Logo
५ आश्विन २०८१, शनिबार
(August 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस वर्षको विशेष संस्कृत सम्मान प्रा. मुकुन्दशरण उपाध्यायलाई

 संस्कृत भाषामा निहित ज्ञानको विश्वभर प्रचारप्रसार गर्दै विकासका लागि अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता औंल्याउने उद्देश्यका साथ सातौं विश्व संस्कृत दिवस भदौ ३ गते (सोमबार) मनाइँदै छ। जरो किलो प्रतिष्ठान नेपालको पहलमा वि.सं. २०७५ देखि मनाउन थालिएको यो दिवस प्रत्येक वर्ष श्रावणी पूर्णिमाको दिन अर्थात् ऋषितर्पणीका दिन मनाइन्छ।

यस वर्षको मुख्य समारोह समुद्र मन विद्या प्रतिष्ठानको सभाकक्ष, गहनापोखरी टङ्गालमा आयोजना गरिने समारोहका प्रमुख वक्ता एवं संकल्पकर्ता डा. निर्मलमणि अधिकारीले जानकारी दिए।

नेपालमा यस वर्षको संस्कृत दिवस विभिन्न संघसंस्थाहरूको सहकार्यमा मनाउन लागिएको छ, जसमा जरो किलो प्रतिष्ठान नेपाल, नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभाग लगायतका संस्था रहेका छन्। अन्तर्राष्ट्रिय स्तरमा पनि सहृदयता इन्टरनेशनल, इन्टरनेशनल फेडेरेसन अफ सनातन धर्म लगायतका संघसंस्थाहरूले सहकार्य गरिरहेका छन्।

समारोहमा प्रमुख वक्ता एवं संकल्पकर्ता डा. अधिकारीले संस्कृत दिवसलाई संयुक्त राष्ट्रसङ्घबाट आधिकारिकता प्राप्त गराउने प्रस्ताव प्रस्तुत गर्दै छन्। यस वर्षको विशेष संस्कृत सम्मान प्रा. मुकुन्दशरण उपाध्यायलाई प्रदान गरिने पनि आयोजकले जनाएको छ।

उपाध्यायले संस्कृत तथा नेपाली भाषाको विकास र सनातन धर्म संस्कृतिको प्रवर्धनमा दशकौँदेखि विशिष्ट योगदान पुर्याएका छन्। यसअघि, यो सम्मान आचार्य पूर्णचन्द्र उपाध्याय ढुङ्गेल र प्रा.डा. दीर्घराज घिमिरेलाई प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. पुरुषोत्तमाचार्य, जो वर्तमानमा भारतको राजस्थान संस्कृत विश्वविद्यालयका प्राध्यापक हुन्। उनी संस्कृतका एक विशिष्ट विद्वान र प्रतिष्ठित आध्यात्मिक गुरुका रूपमा परिचित छन्।

विश्व संस्कृत दिवस कार्यपरिषद्का संयोजक प्रा.डा. माधवप्रसाद पाण्डेयका अनुसारयसै सातै प्रदेशको गुरुकुलहरू र अन्य संस्थाहरूको नेतृत्वमा विभिन्न कार्यक्रमहरू पनि गरिने छ।

 

प्रकाशित मिति: Aug 18, 2024

प्रतिक्रिया दिनुहोस्