Logo
५ आश्विन २०८१, शनिबार
(August 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि–जीबी जोडिएको गोरखा मिडिया नेटवर्कमा प्रवेश गर्‍यो संसदीय समिति, विपिन आचार्यसँग सोधपुछ

सहकारी ठगी सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समिति सहकारीको करोडौं रुपैयाँ अपचलन गरेको गोरखा मिडिया नेटवर्कमा प्रवेश गरेको छ ।

सहकारी सम्बन्ध विभिन्न सरोकारवाला, सहकारी ठगीमा जेल परेका सञ्चालकहरूसँगको छलफलपछि समिति गोरखा मिडिया नेटवर्कमा प्रवेश गरेको हो ।

समितिले आइतबार गोरखा मिडिया नेटवर्क प्रालिका क्रियटिभ डाइरेक्टर तथा नोबडी प्रोडक्सन प्रालिका संचालक विपिनकुमार आचार्यसँग सोधपुछ गरेको छ ।

‘विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको वचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये आज गोरखा मिडिया नेटवर्क प्रालिका क्रियटिभ डाइरेक्टर तथा नोबडी प्रोडक्सन प्रालिका सञ्चालक विपिनकुमार आचार्यलाई समितिको बैठकमा बोलाएर सोधपुछ गरिएको छ,’ समिति संयोजक सांसद सूर्य थापाले फेसबूकमा लेखेका छन् ।

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिमलगायतका सहकारीबाट करोडौं रुपैयाँ गैरकानूनी रूपमा गोरखा मिडियामा लगानी गरिएको बाहिर आएपछि तत्कालीन प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदका विशेष समिति गठनको माग अगाडि सारेको थियो ।

संसदीय समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालकहरू छविलाल जोशी बन्जाडे, कुमार रम्तेल लगायतसँग पनि सोधपुछको तयारी गरेको छ ।

सहकारीको रकम अपचलन गरेको गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग पनि समितिले छलफलको तयारी गरेको छ ।

सहकारीको बचत अपचलन गरेको आरोप लागेपछि फरार रहेका जीबी राई अध्यक्ष रहेको कम्पनीमा रवि प्रबन्ध निर्देशक थिए ।

जेठ १५ गते गठन भएको संसदीय समितिको अवधि भदौ १५ सम्म छ ।

प्रकाशित मिति: Aug 18, 2024

प्रतिक्रिया दिनुहोस्