Logo
१० मंसिर २०८१, सोमबार
(November 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नहुने भो तालमेल : महतोलाई निधिले ‘प्रदेश स्तरका नेता’ भनेपछि बालुवाटारबाट भड्किएर निस्किए नेताहरु

राष्ट्रिय जनता पार्टी नेपाल र काँग्रेसबीच सीटमा कुरा नमिलेपछि लोकतान्त्रिक गठबन्धन नबन्ने भएको छ । धनुषाको ३ नम्बर क्षेत्र काँग्रेस नेता विमलेन्द्र निधिले नछाडेपछि कुरामा सहमति बन्न नसकेको हो । स्रोतका अनुसार आज बालुवाटारमा बसेको बैठकमा मधेशी दलले धनुषाको क्षेत्र नम्बर तीन माग्दा विमलेन्द्र निधिले राजेन्द्र महतोलाई ‘धनुषा क्षेत्र नम्बर तीनबाट प्रदेशसभामा लड्नुस् काँग्रेसले सघाउँछ’ भनेपछि महतो भड्किएका थिए ।

हिजो नै चर्काचर्की भएर ‘खाटखुट’ परेपछि नेपाली काँग्रेसका नेता प्रदिप गिरीको आग्रहमा आजको बैठक बसेको थियो । बैठकममा गिरीले महतोलाई धनुषाको चारबाट चुनाव लड्न पनि आग्रह गरेका थिए ।

धनुषाको चारबाट चुनाव लडेपछि काँग्रेसले त्यहाँ उम्मेदवारी नदिने प्रस्ताव गिरीले अघि सारेपछि राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले ‘तपाईंहरुले जे–जे भन्नुहुन्छ त्यही मान्नुपर्छ भने के छ ? न तपाईंहरु सर्लाही छाड्न चाहनुहुन्छ न धनुषा छाड्न चाहनुहुन्छ । हामीलाई मात्र छाड्न भन्नुहुन्छ । तपाईहरुले गर्न चाहीँ खोज्नुभएको के हो ?’ भन्दै रोष प्रकट गरेका थिए । यति भन्दै मधेसी नेताहरु आजको बैठकबाट बाहिरिएको स्रोतले बतायो ।

धनुषाका तीन नम्बर क्षेत्रबाट राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महतो पनि चुनाव लड्ने र त्यहाँ काँग्रेसले सहयोग गर्नुपर्ने राजपा नेपालको माग रहेको थियो । तर, काँग्रेसले त्यो कुरा स्वीकार गरेको छैन । राजपा नेपालले सर्लाहीको चार नम्बर क्षेत्र वा धनुषाको तीन नम्बर क्षेत्रमध्ये एक आफूहरुलाई दिन आग्रह गरेका थिए ।

सर्लाही चारबाट डा. अमेरशकुमार सिंह उम्मेदवारी दिने तय भइसकेको छ । सर्लाही चारबाट काँग्रेसले सिंहलाई टिकट नदिएको खण्डमा त्यहाँबाट महतोले चुनाव लड्ने सम्भावना थियो । तर सिंहले नमानेपछि राजेन्द्र महतोले धनुषा तीनका लागि आफ्नो उम्मेदवारी तय गरेका हुन् ।

 

प्रकाशित मिति: Nov 1, 2017

प्रतिक्रिया दिनुहोस्