Logo
६ आश्विन २०८१, आईतबार
(August 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युवाको आवश्यकता र भावना सम्बोधन गर्ने नीति आवश्यक : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ युवा नीति आवश्यक भएको बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले संघीयता, सूचना प्रविधिको विकास तथा बदलिँदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ नीतिको आवश्यकता भएको बताए।

उनले परिवर्तित विश्व परिवेश, विज्ञान र प्रविधिमा आएको नविनतम विकासको सन्दर्भमा युवा संवद्ध समस्या तथा चुनौतीलाई सम्बोधन गर्न आवश्यक रहेको बताए। उनले गुणस्तरीय, समय सापेक्ष, रोजगारमुलक शिक्षाको सिमितता, व्यवसायिक सीप र प्रविधिमा न्युन पहुँच, बेरोजगारी र अर्धबेरोजगारी, युवा जनशक्ति पलायन, कमजोर स्वास्थ्य पोषण र मनोबल, युवामैत्री लगानी र उद्यमशिल वातावरणको सिमितता रहेको बताए।

उनले यी चुनौतिलाई सम्बोधन गर्न युवालाई राष्ट्र र राष्ट्रियताप्रति समर्पित, वैयक्तित स्वतन्त्रता, विश्वव्यापी मानव अधिकारको सिद्धान्त, लोकतान्त्रिक मूल्य, मान्यता, विश्वशान्ति, सहअस्तित्वको भावना जागृत गराउनुपर्ने बताए। उनले वातावरणीय सम्पदाको संरक्षण र संवद्र्धन तथा विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिबीच सहिष्णुता कायम गर्दै युवाको शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका आवश्यकताको परिपूर्ति, समानता एवं समतामुलक वितरणको सिद्धान्तको आधारमा गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘अहिले परिस्थिति धेरै बदलिएको छ । संघीयता, सूचना प्रविधिको विकास तथा बदलिँदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ नीतिको आवश्यकता भइसकेको छ। परिवर्तित विश्व परिवेश, विज्ञान र प्रविधिमा आएको नविनतम विकासको सन्दर्भमा युवा संवद्ध समस्या तथा चुनौतिलाई सम्बोधन गर्न आवश्यक छ।

राष्ट्रपति पौडेलले युवालाई समाज रुपान्तरणको माध्यम बनाउन आग्रह गरे। उनले नेपालसँग भएका प्राकृतिक सम्भावनालाई सही सदुपयोग गर्नसके समृद्धिका लागि कतै भौँतारिनु नपर्ने जिकिर गरे।

प्रकाशित मिति: Aug 12, 2024

प्रतिक्रिया दिनुहोस्