Logo
६ आश्विन २०८१, आईतबार
(August 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भलिवलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीलाई काठमाडौँ महानगरको सम्मान

काठमाडौँ । काभा महिला भलिवल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीलाई काठमाडौँ महानगरपालिकाले सम्मान गरेको छ । उाीहरुलाई प्रोत्साहन स्वरुप महानगरले नगद सहित सम्मान गरेको हो ।

सो क्रममा माठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको बताए । ‘तपाईँहरुले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । खेलमा कुनै कमजोरी थिएन ।’ शाहले भने, ‘खेलले सबै नेपालीलाई एउटै ठाउँमा उभ्याएको थियो । यसकारण, तपाईँहरुको प्रदर्शनले भलिवल राष्ट्रिय खेल भएको प्रमाणित भएको छ ।’ प्रमुख शाहले, खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताए ।

खेल सकिएको भोलिपल्ट उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान प्रदान गरेको हो । त्यस अवसरमा खेलाडीलाई जनही १ लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

सम्मान प्राप्त गर्ने खेलाडीहरुमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ्, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ छन् । खेलको टिम म्यानेजर निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव छन् । यस्तै लोकेन्द्रबहादुर कुँवर थेरापिष्ट हुन् ।

सो क्रममा खेलाडी सहितको टोलीले, सरकारी संयन्त्रलाई खेल विकासका लागि थप काम गर्न ध्यानाकर्षण गराएका थिए । ‘उपविजेता टोलीले हामीजस्ता सरकारी संयन्त्रलाई खेलको पूर्वाधार, खेलमैत्री वातावरण र खेलाडीको क्षमता विकासमा काम गर्न ध्यानाकर्षण गएको छ । यो विषय छुटेको महसुस गराएको छ । यसमा हामी काम गर्नेछौँ ।’ सम्मानका क्रममा प्रमुख शाहले धारणा राखे ।

काठमाडौँको दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३–२ सेटले पारजित भएको थियो । राउन्ड रोबिन लिगमा भने नेपालले भारतमाथि विजय गरेको थियो । खेलमा ५ वटा देश सहभागी थिए । सन् २०१९ मा भएको १३ औँ दक्षिण एशियाली खेलकुदको भलिवल खेलमा पनि नेपालले यही अवस्थाको सामना गर्नु परेको थियो । उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० सोझो सेटमा हराएको थियो ।

भारतलाई फाइनलमा हराउन सकेको भए नेपाली महिला भलिबल इतिहासमा ठूलो उपाधि हुने थियो । यो उपाधि प्राप्त गर्न नेपालले खेललाई अझ सशक्त बनाउँदै अर्को प्रतियोगिताका लागि प्रतिक्षा गर्नु पर्ने भएको छ ।

प्रकाशित मिति: Aug 8, 2024

प्रतिक्रिया दिनुहोस्