Logo
६ आश्विन २०८१, आईतबार
(August 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले गरे त्रिविको नीति तथा कार्यक्रममा हस्ताक्षर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रममा हस्ताक्षर गरेका छन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति ओलीले हस्ताक्षर गरेका हुन् ।

हिजो (मङ्गलवार) उपकुलपति प्राडा केशरजंग बराल लगायतका त्रिविका पदाधिकारीहरूले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीको हस्ताक्षर गराएका हुन् ।

त्रिविका रजिष्ट्रार प्राडा केदार रिजालले मङ्गलवार प्रधानमन्त्रीले बजेटसँगै नीति तथा कार्यक्रममा हस्ताक्षर गरेको बताए । यसअघि त्रिविका अधिकारीहरूले ओलीले नीति तथा कार्यक्रम रोकेको बताएका थिए । साउन १५ गते त्रिविको सिनेट बसेको थियो । उक्त सिनेटमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएको थियो । तर, कार्यव्यस्तता देखाएर ओली नीति तथा कार्यक्रममा छलफल नै नगरी निस्किएका थिए ।

आफ्नो कार्यव्यस्तता देखाउँदै ओलीले नीति तथा कार्यक्रम पढ्न रोकेका थिए । त्यसपछि उनले शिक्षामन्त्री विद्या भट्टराईलाई अध्यक्षताको जिम्मेवारी दिएर उनी बाहिरिएका थिए । शिक्षामन्त्रीको अध्यक्षतामा भएको छलफलपछि नीति तथा कार्यक्रम समेत पारित भएको थियो ।

सिनेट बैठकबारे बाहिर गलत हल्ला फैलाइएको उनको भनाइ छ । ‘सिनेटमा हाम्रो दुईवटा मात्रै एजेण्डा थिए । एउटा त्रिविको ६२ औँ ग्रेस लिष्ट पारित गर्ने । त्यसपछि नीति तथा कार्यक्रम बजेट पारित गर्ने । तर, गलत बुझाइका कारण गलत सन्देश गयो । बजेट र नीति तथा कार्यक्रम उस्तै हो । त्यो पास नहुने कुरै भएन,’ रजिष्ट्रार रिजालले भने ।

विश्वविद्यालयका नियम, विनियम संशोधन लगायतका विषयमा छलफल अर्को बैठकबाट गर्ने भन्ने कुरा रहेको उनको भनाइ छ । तर, प्रधानमन्त्री र विश्वविद्यालयका पदाधिकारीहरूबिच दूरी कायम गराउने खालको दुष्प्रचार भएको बताए ।

सिनेटबाट स्नातक, स्नातकोत्तर तह लगायतका विभिन्न तहका ७३ हजार ९ सय ९५ विद्यार्थीको ग्रेस लिष्ट पास भएको थियो ।

सिनेटमा प्रधानमन्त्री ओलीले उपकुलपति प्राडा बराललाई नीति तथा कार्यक्रम पेस गर्न खोज्दा राेकेका थिए । नीति तथा कार्यक्रमका विषयमा आपत्ति जनाउँदै ओलीले भनेका थिए, ‘म आएकै बैठकमा विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री हुनुहुँदैन भन्ने प्रस्ताव किन राखियो ? प्रधानमन्त्री आएर सुन्दा नै सरकारमा छिटो पुग्ला कि भनेर ?’

प्रकाशित मिति: Aug 7, 2024

प्रतिक्रिया दिनुहोस्