Logo
६ आश्विन २०८१, आईतबार
(August 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफूमाथि दुर्व्यवहार भएको भन्दै सांसद सोविता गौतमले सरकारलाई गराइन् ध्यानाकर्षण

काठमाडौँ । रास्वपा सांसद सोविता गौतमले आफूमाथि दुर्व्यवहार भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले आइतबार आफ्नो निर्वाचन क्षेत्रको बाढी पहिरो निरीक्षण गर्न जाने क्रममा दुर्व्यवहार भएको भन्दै यसबारे सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताइन् ।

सांसद गौतमले घटना विवरण यसरी सुनाइन्-

आइतबार साँझ म आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बाढी पहिरो अवलोकन गर्न जाँदै थिएँ । त्यसक्रममा कागेश्वरी मनहरा ६ मा रहेको मनकामना टोलमा पुगेँ । मुलपानी क्रिकेट स्टेडियमबाट अपोजिट साइडमा रहेको डाँडातिर एउटा मन्दिरजस्तो छ ।

त्यो मन्दिरको मुनितिर एउटा घर र चिया पसल छ । त्यो कटेपछि गाउँ समाज छ । म त्यहाँ जाँदै सुरुमा मलाई पहिरो देखाउन केही स्थानीयहरू चिया पसलमा कुरेर बस्नुभएको थियो ।

त्यसपछि हामी त्यो पहिरो भएको ठाउँमा पुग्यौ । र, त्यहाँबाट फर्केर आउने क्रममा त्यो चिया पसलमा १५,२० जना मानिस जम्मा भइसक्नुभएको थियो । ती साथीहरू सामान्य अवस्थामा हुनुहुन्थेन ।

उहाँहरू कोही गाँजाको नसामा लट्ठ र कोही रक्सीले मात्तिएको अनि कोही सामान्य अवस्थामा पनि हुनुहुन्थ्यो । म त्यहाँ आइपुग्दा एकाएक उहाँहरूले घेर्न थाल्नुभयो र तपाई बुढो मान्छे भएको ठाउँमा मात्र जाने ? भन्दै प्रश्न गरियो । र चक्रव्यूह रचियो, घेरियो अनि मुख छाडियो ।

मैले कुरा राख्नुस् भनेर निवेदन गर्दै थिएँ तर ‘तैँले निर्वाचन क्षेत्रमा के गरिस् भनेर फोहोरी शब्दहरू प्रयोग गरेर आक्षेप लगाउने काम भयो । त्यसपछि मलाई अलि चुनौती फिल भएर चिया पसलतर्फ गएँ तर कतिले भिडियो उतार्नुभयो । मलाई दुर्व्यवहार गर्ने शैलीमा । त्यसपछि मेरो स्वकीय सचिवले बौद्धको डीएसपीलाई घटनाबारे जानकारी पनि गराउनुभएको छ । तर घर गएपछि भिडियो हेर्दा मेरो मात्र भिडियो पोस्ट गरिएको रहेछ ।

त्यो व्यक्तिको प्रोफाइल हेर्दा कुनै एउटा राष्ट्रिय दलको सङ्गठनको साथी भएको पाइयो । विवादमा पार्ने हिसाबले एउटी महिलालाई यसरी बाटो ढुकेर यस्तो व्यवहार गर्ने हो भने अब म आफ्नो निर्वाचन क्षेत्रमा जाँदा पनि चौतारो हेर्दै हिँड्नुपर्ने हो ? सरकारले सुरक्षा चुनौतीका बारेमा सोच्ने कि नसोच्ने ? यस्ता गम्भीर विषयलाई सरकारले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: Aug 5, 2024

प्रतिक्रिया दिनुहोस्