Logo
२७ पुस २०८१, शनिबार
(July 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुकुलको गम्भीर आरोप: उपसभामुखको सचिवालयले ९ लाख लिएको रहेछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले उपसभामुख इन्दिरा राना मगरले अमेरिकाको भिसाका लागि दूतावासलाई लेखेको पत्रका बारेमा प्रतिक्रिया दिएका छन् ।

तत्कालीन समयमा आफू महामन्त्री रहेको र त्यसैबेला जानकारीमा पाएर यो विषयको सोधखोज गर्दा आर्थिक लेनदेन भएको पाएको उनले उल्लेख गरेका छन् । मंगलबार यस विषयमा लामो फेसबुक स्टाटस लेख्दै ढकालले उपसभामुख रानले यो प्रकरणमा पदबाट राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुपर्ने पनि उल्लेख गरेका छन् ।

यसअघि राना र रास्वपाले यो प्रकरणमा आर्थिक लेनदेन भएको नपाइएको दाबी गरेका थिए । तर, ढकालले भने लाखौँको लेनदेन भएको आफूले पाएको दाबी गरेका छन् । र यसको प्रमाण पीडितसँग भएको पनि ढकालको भनाइ छ ।

‘९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन्,’ ढकालले फेसबुकमा लेखेका छन्, ‘पीडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ ।’

आफूले सोधखोज गरेपछि पीडितले रकम फिर्ता पाएको पनि ढकालको दाबी छ । ‘उपसभामुखलाई सोधखोजपछि पनि म पीडितको सम्पर्कमा आफैँ पुग्न चाहेँ तर सम्पर्कमा आएको पीडितले ती पालिका सभापतिलाई “तपाईंले कुरा कता कता पुर्‍याउनुभयो, मेरो पैसा फिर्ता आयो” बताइन्,’ उनले लेखेका छन् ।

ढकालले यो प्रकरणको अनुसन्धानका लागि उपसभामुखले पदबाट राजीनामा दिनुपर्ने पनि बताएका छन् । उपसभामुख रानाको विगत राम्रो भए पनि त्यसैका आधारमा यस्तो विषयमा अनुसन्धानका लागि तयार हुनु नपर्ने कारण पनि नभएको बताएका छन् ।

‘उपसभामुख इन्दिरा आमाको विगतको छवि सबै नेपालीले शिर निहुराएर नमन गर्नै पर्छ,’ ढकालले लेखेका छन्, ‘विगतको छवि उच्च रहे पनि छानबिनका लागि तयार हुन नपर्ने केही कारण नै छैन । उपसभामुखले तत्काल पदबाट राजीनामा दिइ आफूमाथि छानबिनका लागि स्वंय तयार हुनपर्छ ।’

यस्तो छ ढकालको स्टाटसः

उपसभामुखको पत्र प्रकरणका बारेमा मेरो भनाइ

वैशाख ४, २०८१ मा पार्टीका संगठन विभाग सचिव शङ्कर श्रेष्ठले उपसभामुखले लेखेको पत्र मलाई वाट्सएप गर्नुहुन्छ । साथै, उहाँले पार्टीका एक जना पालिका सभापतिसँग आफूँले गरेको टेलिफोन संवादको रेकर्ड पनि पठाउनु हुन्छ । टेलिफोन संवाद अनुसार पालिका सभापतिकहाँ पत्रमा उल्लेख गरिएकी एक जना महिला , आफूँलाई पिडित भन्दै उहाँसँग सम्पर्कमा आउनु हुन्छ । पिडितका अनुसार १ वर्ष अगाडी उपसभामुख सचिवालयले अमेरिका पठाइदिने भन्दै उहाँसँग पैसा लिएको थियो , र अमेरिका भिसा नलागेपछी कहिले बेलायत त कहिले अर्को कुनै देश पठाइदिने भन्दै उपसभामुख सचिवालयले अलमलाएका कारण आफ्नो पैसा फिर्ता गराइदिन भन्दै पार्टीको सम्पर्कमा आएकी थिइन् ।

घटनाको खबर प्राप्त गर्ने बितिकै मैले घटनाको बारेमा पार्टी सभापति रवि लामिछाने, पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले र पार्टी सहकोषाध्यक्ष एवं गृहमन्त्रालयमा गृहमन्त्रीको सचिवालय संयोजकका रूपमा काम गरिरहेका दिपक बोहोरासम्म कुरा पुर्याए र गृहमन्त्रालयबाट उल्लेखित ५ जना विदेश उडेको नउडेको अध्यागमनबाट हेर्न आग्रह गरे । भोलिपल्ट राम नवमी परेकाले पर्सी पल्ट कोहि पनि विदेश नउडेको खबर प्राप्त गरेँ । घटनाका बारेमा सिधै उपसभामुखबाट बुझ्नपर्छ भन्ठानी, मैले उपसभामुखसँग सम्पर्क गरेँ र उहाँले शुरूमा पत्रका बारेमा जानकार नरहेको बताउनु भयो तर अलिकति केरकार गरेपछी उहाँले उपेन्द्र भन्ने भाइ पार्टीकै मान्छे भएको , उसलाई मात्र चिनेको, अरूलाई नचिनेको बताउनुभयो र उपेन्द्रले भने अनुसार पत्रमा हस्ताक्षर गरेको बताउनु भयो । “नचिनेको मान्छे भन्न पाइन्छ ?” , “त्यसरी हस्ताक्षर गर्न मिल्छ ?” भनेर उपसभामुखलाई मैले प्रश्न गरेँ र उहाँले “थाहा भएन” भन्ने सामान्य उत्तर दिनु भयो । “थाहा छैन भन्न पाइन्छ ?” भनेर मैले प्रश्न गरिरहे, तर उहाँले “थाहा छैन” को रटान लगाइरहनु भयो । त्यसपछी, अब आइन्दा त्यसरी कसैको हस्ताक्षर नगर्नु र ती ५ जना पार्टी कार्यलयमा यथासक्य छिटो उपस्थित गराउनु भनेर पार्टी महामन्त्रीको रूपमा निर्देशन दिए । त्यतिबेला उहाँले महेश पाण्डे भन्ने व्यक्तिलाई ती को हुन् भन्ने थाहा छ र उहाँलाई सम्पर्क गर्न बताउनु भयो तर मैले अन्य व्यक्तिसँग सम्पर्क नगर्ने र तपाईंले नै ती व्यक्ति पार्टी कार्यलयमा उपस्थित गराउनु भने ।

उपसभामुखको मात्र होइन, “थाहा छैन” भन्ने रोग पार्टीमा संक्रमण रोग जसरी फैलिएको छ जुन कुरा मैले समीक्षा प्रतिवेदनमा पनि उल्लेख गरेको छु । भविष्यमा, यस्ता “थाहा छैन” प्रकरण थप खुल्दै जाने नै छन् किन भने , सत्यलाई केहि दिन लुकाउन सकिएला , सँधै लुकाउन सकिन्न । “थाहा छैन” भन्ने जवाफले पार्टी महामन्त्रीको रूपमा मलाई पारेको दवावकै कारण मैले समीक्षा यात्रा पनि “थाहा अभियान” का अभियान्ता रूप चन्द्र विष्ट ‘रूदाने’ को गाउँ “थाहा नगरपालिका” बाट शुरू गरे ।

उपसभामुखलाई त्यसरी ती ५ जना उपस्थित गराउने निर्देशन दिएपछी , इलामको उपचुनाव आयो । चुनावको नतिजापछी पार्टी सचिवालय बैठक बस्यो र बैठकले मलाई समीक्षा यात्रामा पठाउने निर्णय गर्यो । त्यसपछीका घटनाक्रम आम जनतामाझ आइसकेको छ । उपसभामुखको पत्र र मानव तस्करी जस्तो जघन्य अपराध जोडिएको यो विषयमा पार्टीका सिमित व्यक्तिको जानकारीमा मैले अनुसन्धान गरिरहेको थिएँ तर समयचक्रमा घटनाक्रम यसरी विकसित भएकी अनुसन्धानभन्दा के कति विषयमा म ओझेलमा परेँ, सम्भवत सबैको जानकारीमा आएकै विषय हो । महिना दिन बित्दा पनि उपसभामुखले ती ५ जना दिइएको निर्देशन अनुसार पार्टी कार्यलयमा उपस्थित गराउनु भएन र उपस्थित नगराएका कारण थप कदम चाल्नु पर्ने हुन्थ्यो , जुन अवस्थामा म रहिन र जानकार मध्ये अन्य कसैले चासो दिएन ।

उपसभामुखलाई सोधखोजपछी पनि म पिडितको सम्पर्कमा आफैँ पुग्न चाहेँ तर सम्पर्कमा आएको पिडितले ती पालिका सभापतिलाई “तपाईंले कुरा कता कता पुर्याउनु भयो, मेरो पैसा फिर्ता आयो” बताइन् । ९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछी पिडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन् । पिडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पिडितसँग सुरक्षित छ ।

हालसालै घटना सार्वजनिक भएपछी , रवि लामिछाने क्लवले मिथ्या र भ्रम छर्न पार्टीको लेटरहेड दुरूपोयग गर्यो । लेटरहेडमा आर्थिक लेनदेन नभएको भनेर किटान गरी विज्ञप्ति जारी गर्नु अघि , तत्कालिन अवस्थामा अनुसन्धानको नेतृत्व गरिरहेका कारणले पनि मलाई के भएको हो भनेर सोधखोज गरिनुपर्थ्यो तर मलाई रवि लामिछाने क्लवले सामान्य सोधपुछ समेत गरेन । यसको मतलव क्लव विषयको गाम्भिर्यतालाई सिधै नजरअन्दाज गरी पार्टीमा बेथितिको संरक्षणमा खडा भयो ।

उपसभामुखको विषय पार्टी मात्रको विषय नभएकाले देशकै प्रतिष्ठासँग जोडिएको राज्यको उपल्लो तहको विषय भएकाले यसमा छानविन हुनपर्छ । मलाई प्राप्त सूचना र प्राप्त प्रमाणका आधारमा, म यति भन्न सक्छु , आर्थिक लेनदेन भएको कुरालाई इन्कार गर्न सकिन्न । अझै पनि , ती ५ जनालाई खोजी गरि तीनिहरू महिला अधिकारका क्षेत्रमा राजनीतिक, सामाजिक, कानुनी वा कुनै पनि आधारमा विगतमा महिला अधिकारका क्षेत्रमा काम गरेका व्यक्ति हुन् वा होइनन्, सजिलैसँग पत्ता लाग्ने विषय हो । यहाँ गाह्रो भनेको, ती ५ जना खोज्नु हो । राज्यले अनुसन्धान गर्ने हो भने, ती ५ जनाकै वतन पत्ता लगाउनु ठूलो विषय होइन । राज्यले यस विषयमा अनुसन्धान गरोस् र अनुसन्धानका क्रममा राज्यका कुनै पनि निकायले के भएको थियो भनेर सोध्न मलाई अनुसन्धानमा बोलाए, मसँग रहेका प्रमाण बुझाउन तयार छु , मलाई थाहा भएका सबै कुरा बताउन तयार छु ।

उपसभामुख इन्दिरा आमाको विगतको छवि सबै नेपालीले शिर निहुराएर नमन गर्नै पर्छ । यसो भन्दै गर्दा, हामीले यो पनि बिर्सन हुन्न कि , हामी त्यो समाजमा बस्छौँ, जुन समाजमा कुनै दिन माता सिताले पनि सहजै अग्नी परीक्षा दिन तयार हुनु भएको थियो । विगतको छवि उच्च रहे पनि , छानविनका लागी तयार हुन नपर्ने केहि कारण नै छैन । उपसभामुखले तत्काल पदबाट राजीनामा दिइ, आफूँमाथि छानविनका लागी स्वंय तयार हुनपर्छ । छानविनका लागी तयार भएर नैतिकताको खडेरी देखिएको नेपाली राजनीतिमा नैतिकताको उदाहरण पेश गर्न सक्नुपर्छ । छानविनले उहाँ दोषी हो, होइन वा उहाँको सचिवालयले उहाँको जानकारी बिना यसरी मानव तस्करीमा लागेको हो की ? सबै पत्ता लागी हाल्छ । तर आफ्नो विगतको प्रतिष्ठाका खातिर, र आगामी दिनमा पनि नेपाली राजनीतिलाई नैतिकताको पाठ सिकाउन भए पनि आफूँमाथि आफैँ छानविनको माग गर्दै राजीनामा दिनपर्छ । यसै पनि , त्यो पदमा बसेर जनताको जीवनसँग जोडिने गरि के नै काम गर्न सकिन्छ र ? वा गरिएको छ र ? त्यो पदले गर्न सक्ने भनेको नेपालीको इज्जत, प्रतिष्ठा र मर्यादालाई उचो बनाउनु हो , जुन राजीनामा दिएर गर्न सकिन्छ , नकी पदमा बसेर ।

प्रकाशित मिति: Jul 23, 2024

प्रतिक्रिया दिनुहोस्