Logo
७ आश्विन २०८१, सोमबार
(July 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनताका अधिकार खोस्न खोज्दैछन्, त्यसको विरुद्धमा माओवादीले हुङ्कार गर्नुपर्छः प्रचण्ड

काठमाडौं, २ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले गठबन्धन सरकारले पश्चगमनको षड्यन्त्र सुरु गरेको टिप्पणी गरेका छन् ।

आज (बुधबार) पार्टीनिकट विद्यार्थी संगठनका नेताहरुसँगको भेटमा उनले कांग्रेस–एमालेले जनताको अधिकार खोस्ने प्रयन्त गरिरहेको बताएका हुन् । उनले प्राप्त उपलब्धीहरु खोस्नेको विरुद्धमा प्रतिवाद गर्न सिंगो पार्टी पंति र जनता लाग्नुपर्ने बताए ।

‘देशलाई फेरि प्रतिगमनतिर लैजाने,पछाडि फर्काउने, जनताले पाएका अधिकार खोसेर फेरि निरङ्कुशतातिर जाने जो प्रयास भएको छ, प्रयत्न त्यतापट्टी हो । अग्रगमनतिर होईन, पश्चगमनतिरको षड्यन्त्र सुरु भएको छ । त्यसका विरुद्ध हामी हुङ्कार गर्नुपर्ने छ ।

मैले अस्ती हाम्रो वर्ग, समुदाय र जनतालाई अपिल गरेको छु– जनताका बैरीहरु मिलेर जनताको अधिकार खोस्न खोज्दैछन् । खबरदार, अब जनताको पनि जिम्मेवारी छ । खोस्न खोजेको अधिकारलाई हामीले प्रतिवाद र प्रतिरोध गरेर रक्षा गर्ने र उपलब्धीको रक्षा गर्ने हाम्रो जिम्मेवारी छ,’– उनले भने ।

आफूहरु सरकारबाट निस्किँदै गर्दा बेदाग निस्किएको उनको दाबी छ । सरकार छोड्दै गर्दा माओवादी विजयी भावमा उच्च मनोबल र आक्रमक भएर निस्किएको उनको भनाइ छ ।

सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा नयाँ रिकर्डहरु बन्दै जाँदा सदनमा भएका पहिलो र दोस्रो पार्टी अप्राकृतिक ढंगले मिलेर सरकार बनाएको उनले टिप्पणी गरे । अध्यक्ष प्रचण्डले कांग्रेस–एमालेलाई सुशासनको डरले मिलाएको दाबी गरे ।

सरकारमा रहँदा सुशासनको पक्षमा गरेको राम्रो कामले पार्टी संगठन सुदृढ गर्ने, विस्तार गर्ने र युवाहरुमा संगठन फैलाउन वातावरण निर्माण भएको उनले बताए । उक्त आधारलाई टेकेर अब जनतामाझ जान आवश्यक रहेको उनको भनाइ छ ।

‘अब हाम्रो काम जो आधार बनेको छ, संगठन सुदृढ गर्ने, विस्तार गर्ने, युवाहरुसँग सम्बन्ध अझ सुदृढ गरेर जाने राम्रो आधार चाहीँ तयार भएको छ । सबैले यो आधारमा टेकेर अब संगठन सुदृढ गर्ने, विस्तार गर्ने, युवाहरुमा संगठन फैलाउने, राम्रो वातावरण बनेको छ । त्यसैमा जानुपर्छ,’– प्रचण्डले भने ।

पार्टीनिकट विद्यार्थीहरुको राष्ट्रिय सम्मेलन आउँदै गरेको स्मरण गराउँदै उनले सम्मेलनको बेलामा माओवादीका कुराहरु जनताको बीचमा पुर्याउन आग्रह गरे । युवा विद्यार्थी र वर्ग समुदायसँग पार्टीको सम्बन्ध कमजोर भएको स्वीकार गर्दै उनले अब कमजोर कडीलाई बलियोमा रुपान्तरण गर्ने आधार तय भएको बताए ।

उनले महिला, दलित, जनजाति र युवाहरुले पाएको अधिकार खोसेर फेरि पुरानै व्यवस्थातिर फर्कने गरी संविधान संशोधन गर्ने प्रयास भइरहेको बताए ।

आफूहरुले पहिलेदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि पूर्ण समानुपातिक निर्वाचन प्रणालीसम्मको कुराहरु उठाएको बताउँदै उनले त्यो अनुसार संविधान संशोधन गर्न सकिने बताए ।

उनले महिला, युवा र सबै समुदायहरुको खोस्नेभन्दा पनि बढाउन आवश्यक रहेको बताए । उनले संविधानमा रहेका सकारात्मक उपलब्धीलाई उल्ट्याउने दुस्साहस भइरहेको बताउँदै त्यसलाई रोक्ने संकल्प लिन जरुरी रहेको बताए ।

उनले अघिल्लो पटक पनि संसद् विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लडेर असफल बनाएको बताए । संविधान संशोधनको प्रतिगामी संशोधन र अग्रगामी संशोधनका प्रस्ताव आमन्नेसामन्ने हुने उनको भनाइ छ ।

प्रकाशित मिति: Jul 17, 2024

प्रतिक्रिया दिनुहोस्