Logo
८ आश्विन २०८१, मंगलबार
(July 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री छान्न कांग्रेसमा आन्तरिक छलफल

नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा सहभागी हुने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकले ओली सरकारमा सहभागी हुने निर्णय गर्दै पार्टीबाट मन्त्री पठाउन मापदण्डसमेत बनाएको छ।

प्रवक्ता प्रकाशशरण महतका अनुसार पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताका आधारमा समावेशीता तथा प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय भएको छ।

कांग्रेस र एमालेले संविधानको धारा ७६ को उपधारा २ अनुसार शुक्रबार नै प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी पेस गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्ने तयारी गरेका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथको कार्यक्रम भने सोमबार बिहान ११ बजेका लागि राखिएको छ।

कांग्रेस र एमालेले सरकारमा पठाउने मन्त्रीहरू निश्चित गरिसकेका छैनन्। एमालेले मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई नै दिएको छ।

कांग्रेस र एमालेले बराबर हैसियतमा सरकारमा सहभागीता हुने बताइरहेका छन्। साना दलहरूलाई पनि सरकारमा सहभागी गराउने भएकोले कांग्रेस र एमालेले बढीमा ९/९ मन्त्रालय लिने सम्भावना छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान मन्त्रीहरूको नाम ओलीलाई दिने तयारी गरेका छन्। उनको सचिवालय स्रोतले दिएको जानकारी अनुसार सोमबार बिहान मात्रै कांग्रेसबाट को-को सरकारमा मन्त्रीका रूपमा सहभागी हुन्छन् भन्ने यकिन हुनेछ।

सभापति देउवाले नेता शेखर कोइराला लगायतसँग मन्त्री हुनेको नाम मागिसकेका छन्।

नेता कोइरालाले पनि आफ्नो सम्पर्क कार्यालयमा सरकारमा पठाउने मन्त्रीका विषयमा छलफल गरेका छन्।

कोइरालाले विशालनगरस्थित कार्यालयमा आइतबार पछिल्लो राजनीतिक अवस्था र आफ्नो समूहबाट मन्त्रीमा पठाउने नामका विषयमा छलफल गरेका हुन्।

कोइरालाले उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, बलबहादुर केसी, दिलेन्द्रप्रसाद बडूलगायतसँग छलफल गरेका हुन्।

नेताहरूले एकै पटक मन्त्रीहरूको नाम पठाउन आग्रह गरेका छन्। पार्टीले बनाएको मापदण्डअनुसार नै मन्त्रीहरूका नाम सिफारिस गरिनुपर्ने उनीहरूको भनाइ छ।

नयाँ सरकारमा मन्त्री हुन कांग्रेसभित्र धेरै सांसदहरू इच्छुक छन्। धेरै सांसदका नाम मन्त्रीका रूपमा चर्चामा पनि छ। यीमध्ये पूर्वमहामन्त्री प्रकाशमान सिंह, प्रमुख सचेतक रमेश लेखक, केन्द्रीय सदस्य आरजु राणा देउवाको नाम पनि चर्चामा छ। उनीहरूलाई सभापति देउवाले मन्त्री बनाउने संकेत दिएको दाबी कांग्रेसवृत्तबाटै भइरहेका छन्।

कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङ प्रतिनिधि सभा सांसद छन्। उनीहरू दुवै यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्री भइसके।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिक रूपमै पार्टीकै काम गर्ने भएकोले अहिले मन्त्री नहुने अभिव्यक्ति दिएका छन्।

गत असार १७ मा भएको सहमतिअनुसार पहिलो दुई वर्ष ओली र पछिल्लो डेढ वर्ष देउवा प्रधानमन्त्री बन्ने उल्लेख छ।

प्रकाशित मिति: Jul 14, 2024

प्रतिक्रिया दिनुहोस्