Logo
८ आश्विन २०८१, मंगलबार
(July 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनको सिमतालमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक खुल्यो

२८ असार, काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड चितवनको सिमतालमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक खुलाइएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने यही सडकमा शुक्रबार बिहान साढे ३ बजेको समयमा पहिरो खसेको थियो ।

पहिरोले २ वटा गाडी बगाउँदा २ यात्रुसहित २ वटा गाडी बेपत्‍ता भएका छन् भने सडक पनि अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक खुलाएर केही गाडी जान दिए पनि निरन्तर वर्षासँगै माथिबाट ढुंगा झर्न नरोकिएकाले गाडी चल्न सकेका छैनन् ।

पहिरो खस्दा अवरुद्ध बनेकाे नारायणगढ मुग्लिन सडकखण्डकै कालीखोला क्षेत्रको सडक खुलाउन भने केही समय लाग्ने भएको छ । पहिरोले सडक रातिदेखि नै अवरुद्ध छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख एसपी खड्कबहादुर खत्रीले दिएको जानकारी अनुसार कालीखोलामा माथिबाट ठूलो पहिरो झरेकोले पन्छाउन समय लाग्ने देखिएको छ ।

‘गएराति नै आएको पहिरोले सडक अवरुद्ध बनेको हो । माथिबाट ठूला ठूला ढुंगाहरु खसेका छन्, यसलाई हटाउन पनि समस्या भइरहेको छ, ठूलो एक्साभेटर मगाउने काम भइरहेको छ,’ एसपी खत्रीले भने, ‘अझै केही घण्टा यसलाई क्लियर गर्न लाग्छ ।’

उनका अनुसार मुग्लिनबाट काठमाण्डौं सडकखण्डको मौवाखोलामा सडक एकतर्फी छ । अन्यत्र भने त्यति ठूलो डिस्टर्व नरहेको एसपी खत्रीले जानकारी दिए । रातिदेखि विभिन्न ठाउँमा आएको पहिरोले सडक अवरुद्ध हुँदा सडकहरुमा यात्रुवाहक तथा मालबाहक सवारीको लामो जाम लागेका छन् ।

प्रकाशित मिति: Jul 12, 2024

प्रतिक्रिया दिनुहोस्