Logo
५ आश्विन २०८१, शनिबार
(July 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लालीगुराँस सहकारीका थप ५ जनाविरुद्ध पक्राउ अनुमति

काठमाडौँ । ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी आबद्ध थप ५ जनाविरुद्ध पक्राउ पुर्जी आएको छ । ललितपुर जिल्ला अदालतले उपाध्यक्षसहित थप ५ जनालाई पक्राउ गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले  बताए ।

संस्थाका उपाध्यक्ष हजुरी विष्ट, सदस्य भोलाकुमार श्रेष्ठ, लेखा समिति संयोजकहरू पुण्यप्रसाद पोखरेल, विद्यादेवी पाण्डे र तिमिला रञ्जितका विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

महेश थापाको ३ करोड बचत अपचलन गरेको आरोपमा लालीगुरासँका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठसहित ४ जनालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । काठमाडौँ–१३ घर भएका अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत ४६ वर्षीय सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृत अर्याल र सदस्य कदम बाबा जोशी प्रधानविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर–२ घर भएका भण्डारी असार १५ मा पक्राउ परेका हुन् । उनलाई बालुवाटारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई बताउँछन् । अध्यक्ष अमरदास श्रेष्ठ काठमाडौँ–१३ का स्थानीय हुन् । ३१ वर्ष नेपाल बैङ्क लिमिटेडमा काम गरेर अवकाश पाएका श्रेष्ठ २०७४ देखि लालीगुराँसको अध्यक्ष छन् ।

सचिव तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भण्डारी २०५६ असोजमा म्यानेजरको रूपमा लालीगुराँसमा प्रवेश गरेका हुन् । ७५ वर्षीय अमृत अर्याल लाजिम्पाटका स्थानीय हुन् । कदम बाबा जोशी प्रधान ललितपुर महानगरपालिका–११ की स्थानीय हुन् ।

सञ्चालकहरुविरुद्ध १ चैत २०८० मा बचतकर्ताले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता गराएका थिए ।

थप जाहेरी आएन

लालीगुराँसका सञ्चालकहरु विरुद्ध अहिलेसम्म ३ करोड अपचलन गरेको जाहेरी दर्ता भएको छ । एक जना बचतकर्ताले सो जाहेरी दर्ता गराएका हुन् । तर, सञ्चालकहरू विरुद्ध थप जाहेरी परेको छैन । अनुसन्धान सुरु भएपछि थप जाहेरी नआएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले  बताए ।

प्रकाशित मिति: Jul 11, 2024

प्रतिक्रिया दिनुहोस्