Logo
५ आश्विन २०८१, शनिबार
(July 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केबी उप्रेतीविरुद्ध २४० बचतकर्ताले दिए जाहेरी, ८ अर्ब १८ करोड जोखिममा

काठमाडौँ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । उप्रेती १९ असारमा बालाजुबाट पक्राउ परेका हुन् । उप्रेतीमाथि पाँच वटा सहकारी एकीकरण भएर बनेको आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोप छ । उनी आइडियल यमुनाको पनि अध्यक्ष हुन् । सो सहकारीको केन्द्रीय कार्यालय सुकेधारामा छ ।

उजुर गर्नेहरूको चाप बढेपछि अनुसन्धान फाइल प्रहरी वृत्त महाराजगन्जबाट भद्रकालीस्थित परिसरमा झिकाइएको छ । उनीविरुद्ध २४० जना बचतकर्ताले सहकारीको बचत अपचलन गरेको कसुरमा जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले  बताए ।

अहिलेसम्मको तथ्याङ्कअनुसार पीडितहरूले ९ करोड बिगो असुल उपर गर्न माग गरेका छन् । जाहेरी दर्ता हुने क्रम जारी रएको एसपी अधिकारीले बताए ।

२०७९ फागुन २७ को निर्णयअनुसार पाँच वटा सहकारी एकीकरण भयो । ललितपुरको कुपण्डोलमा सञ्चालित हाम्रो सगरमाथा, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी र घेदुङ बहुउद्देश्यीय मिलेर आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बन्यो । त्यसपछि उप्रेतीले मर्जर भएपछिको सहकारीको नेतृत्व लिएका हुन् ।

त्यसअघि उनी कुपण्डोलस्थित हाम्रो सगरमाथाको अध्यक्ष थिए । उप्रेती दोलखाको बैत्यश्वर गाउँपालिका–७ मार्बुका स्थानीय हुन् । पछिल्लो दुई दशकदेखि उप्रेती नेकपा एमालेका सहकारी तथा गरिबी निवारण विभागमा बसेर काम गर्दै आएका थिए ।

१२ जना विरुद्ध पक्राउ पुर्जी

आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीमा आबद्ध १२ जनालाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । सञ्चालक समिति र लेखा समितिका सदस्यहरूको पक्राउ अनुमति आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले  बताए ।

सहकारीमा ८ अर्ब १८ करोड बचत छ । सो रकम जोखिममा परेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । आइडियल यमुनाको ५५ वटा सेवा केन्द्र छन्, ५१ हजार सदस्य छन् । सेयर पुँजी ४७ करोड र कर्जा लगानी ९ अर्ब देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । सहकारीको सम्पत्ति १ अर्ब रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

प्रकाशित मिति: Jul 10, 2024

प्रतिक्रिया दिनुहोस्