Logo
८ आश्विन २०८१, मंगलबार
(June 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्कुले बालकसहित ५ जनालाई खोलाले बगायो

विराटनगर । मोरङको सुन्दरहरैंचा र केराबारीमा गरी ५ जनालाई खोलाले बगाएको छ ।

बुढीखोलामा आएको बाढीले मंगलबार दिउँसो सुन्दरहैचाका ४ महिलालाई बगाएको छ भने मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई स्कुल जाने क्रममा गोविने खोलाले बगाएको छ ।

सुन्दरहरैचा नगरपालिका– ५ गौशला नजिकै बुढीखोलामा माछा मार्ने क्रममा दिउँसो साढे १२ बजे एक्कासी आएको बाढीले  ४ जना महिलालाई बगाएको हो । यसरी बगाउनेहरूमा सुन्दरहरैचा – ५ की २२ वर्षीय स्वस्तिका चौधरी, सोही स्थानकी ६० वर्षीय असरादेवी चौधरी, ३० वर्षीय फुला चौधरी, २२ वर्षीय फुदनी भनिने प्रेमकला चौधरी रहेका छन् ।

बाढीले बगाएकामध्ये २२ वर्षीय स्वस्तिका चौधरीको स्थानीयले उद्धार गरेका छन् । प्रेमकला चौधरीको बुढीखोलाको पश्चिम किनारमा खण्ड सुनसरी ४ मा शव फेला परेको छ । असरादेवी, फुला चौधरी बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबिच विद्यालय जाँदै गरेका मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई गोविने खोलाले बगाएको छ ।

बिहान ९ बजे खोलाले बगाएका उनको शव करिब एक सय मिटर तल भेटिएको  वडाध्यक्ष शिवप्रसाद तामाङले बताए ।  बालक केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए ।

याङ्शीलाबाट स्कुल पुग्न  करिब १ घण्टा लाग्छ ।  विद्यालय जाँदै गरेका ५-६ जना बालबालिका एकैपटक बाढी आएको खोलामा  छिरेका थिए । एक जनालाई बाढीले बगाएको थियो भने अरू विद्यार्थी बाहिर निस्किएका थिए ।

प्रकाशित मिति: Jun 25, 2024

प्रतिक्रिया दिनुहोस्