Logo
८ आश्विन २०८१, मंगलबार
(June 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाजुरास्थित डिपोमा नुन अभाव नभएको कार्यालयको प्रष्टिकरण

बाजुरा । साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह गरेको छ । नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भीड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको हो ।

कार्यालय प्रमुख टेकबहादुर बुढाले जिल्लाका तीन वटै क्षेत्रमा नुनको आवश्यक मौज्दात यथावत रहेको बताए । उनले वर्षायाममा नुन ढुवानीमा समस्या हुने गरेकाले आइतबार मात्रै बिक्री गर्ने गरिएको जानकारी दिए ।

उनका अनुसार मार्तडीमा दुई सय ७३ क्विन्टल, कोल्टीमा तीन सय ८७ क्विन्टल र मौरेमा ७५ क्विन्टल नुन मौज्दात छ । “वर्षाको समयमा ढुवानी गर्दा समस्या हुने देखेर आइतबार मात्रै नुन बिक्री गन थालेपछि नुन अभावको हल्ला फैलिएको हुनसक्छ”, उनले भने, “हल्ला फैलिएपछि एकै घरका चारजनासम्म नुन लिन आएको पाइएको छ ।”

स्थानीय गोरख धामीले नुनको अभावको कु्रा सुनेपछि आफू लाइन बस्न आएको बताए। “नुनको कोटा काटिएको र नुन ढुवानी नहुने खबर सुनेपछि हामीहरु कार्यालय आएका हौँ, तर यहाँ नुनको मौज्दात पर्याप्त रहेको जानकारी पाइयो”, उनले भने ।

बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पनि नुनको अभाव नभएको भन्दै भीड नगर्न आग्रह गरे । उनका अनुसार प्रशासनले नुन र खाद्यान्नको मौज्दातको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको छ ।

प्रकाशित मिति: Jun 25, 2024

प्रतिक्रिया दिनुहोस्