Logo
१ मंसिर २०८१, शनिबार
(June 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचार मुद्दा दायरसँगै मुख्यसचिव अर्याल स्वतः निलम्बनमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै मुख्यसचिव डा. बैकुण्ठ अर्याल पदबाट निलम्बित भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेको व्यक्ति विरुद्ध भ्रष्टाचारमुद्दा दायर भए ऊ स्वतः निलम्बन हुने व्यवस्था छ ।

उक्त दफामा भनिएको छ, ‘निलम्बनमा रहेको व्यक्तिले कुनै सरकारी कार्यालय वा सार्वजनिक संस्थामा वा नेपाल सरकारलाई कुनै किसिमले प्राप्त ऋण वा अनुदान रकममा व्ययभार पर्ने पदमा कुनै पनि किसिमले नियुक्त भई काम गर्न पाउने छैन ।’

मुख्यसचिव अर्यालको निलम्बनसँगै सरकारले अब वरिष्ठतम् सचिवलाई कामू मुख्यसचिवको जिम्मेवारी दिन सक्नेछ । भ्रष्टाचारको आरोपबाट सफाई नपाएसम्म अर्यालको निलम्बन यथावत रहेनछ ।

अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा अर्यालको संलग्नता देखिएको भन्दै उनीविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अर्याल सञ्चार मन्त्रालयका सचिव रहँदा भएको उक्त घोटाला प्रकरणमा उनको समेत संलग्नता देखिएको हो ।

२०७९ असोज ४ गते सेक्युरिटी प्रिन्टिङ सेन्टरले आन्तरिक राजस्व विभागका लागि अन्तःशुल्क स्टिकर छाप्न टेन्डर आह्वान गरेको थियो जसको ठेक्का प्रिन्टसेल प्रालिले पाएको थियो ।

सोही प्रक्रियामा भएको भ्रष्टाचारमा मुख्यसचिव अर्यालको संलग्नता देखिएको अख्तियारको ठहर छ । अर्याल २०८० जेठ ३२ गते मुख्यसचिव नियुक्त भएका थिए ।

२०८० असार २ मा सचिवको पाँच वर्षे कार्यकालबाट अवकाश पाउने क्रममा रहेका अर्याललाई सरकारले त्यसको ३ दिनअघि मात्रै मुख्यसचिवमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति: Jun 23, 2024

प्रतिक्रिया दिनुहोस्