पानी माग्दै बानेश्वरमा मधेशवासीको प्रदर्शन (तस्वीरहरू )
३२ जेठ, काठमाडौं । तराई-मधेशमा पानी माग्दै बानेश्वरको बीच सडकमा रित्ता भाँडासहित मधेशवासीहरूले शुक्रबार पनि प्रदर्शन गरेका छन् ।
चुरे संरक्षण र मधेशमा पानीको अभाव समस्या समाधान गर्न माग गर्दै माइतीघरदेखि बानेश्वरसम्म उनीहरूले प्रदर्शन गरेका हुन् । बानेश्वर चोक नजिकै प्रहरीले उनीहरूलाई रोकेको छ ।
प्रहरीले संसद भवनतर्फ जान नदिएपछि प्रदर्शनकारीले नयाँ बानेश्वरकै सडकमा बसेर खाली भाडा बजाउँदै नाराबाजी गरेका छन् । साथै उनीहरूले दलका नेताहरूलाई पटक-पटक आग्रह गर्दा पानीको समस्या नसुनेको भन्दै विभिन्न दलका शीर्ष नेताहरूको फोटो देखाउँदै ‘लापता, तपाई कहाँ ?, हामी यहाँ !’ प्रदर्शन गरेका छन् ।
आँखा खोल सरकार, चुरे बेच्न पाइँदैन, चुरे ऐन लागु गर, पानी दे सरकारलगायत नारा लगाइरहेका छन् ।
करिब १ महिनाअघि पैदल हिँडेर मधेशको पानीको समस्याबारे सरकारलाई जानकारी गराउन र समस्या सम्बोधनका लागि दबाब दिन काठमाडौं आएका मधेशका विभिन्न जिल्लाका बासिन्दा २२ दिनदेखि माइतीघरमा धर्ना बसिरहेका थिए ।
चुरे संरक्षण अभियन्ता सुनिलकुमार यादवले चुरे संरक्षणको नाममा सरकारले हरेक वर्ष करोडौं रुपैयाँ खर्च गरे पनि चुरे विनाशका कारण मधेशमा ८० प्रतिशत चापाकल सुकेको बताउँछन् । आफूहरु चुरे संरक्षणको माग उठाएर आन्दोलन गर्दा दलहरुले बेवास्ता गरेको भन्दै उनले आक्रोश पोखेका छन् ।
हेर्नुहोस् तस्वीरहरू :