Logo
७ आश्विन २०८१, सोमबार
(June 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रक्षक नै भक्षक : प्रहरीबाटै बालश्रम र यौन शोषण भोगेकी १३ वर्षीय ‘रानीवन १’ को दर्दनाक भोगाइ

काठमाडौँ । जेठ १५ गते सरकारले टुँडिखेलमा भव्य कार्यक्रम गरेर गणतन्त्र दिवसको परेड गर्यो । दिउँसो संसद्‌मा आगामी आर्थिक वर्षको भव्य बजेट भाषण । गणतन्त्र दिवस र बजेटको भव्य रमाइलोमा देशको  राजधानी शहर झुमिरहेको साँझ काठमाडौँको पश्चिम उत्तरको धनाढ्यहरूको नयाँ अड्डाको रुपमा चिनिएको रानीवनमा १३ वर्षीय बालिकामाथि नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक आफ्नै घरमा इज्जत लुटिरहेका थिए ।

आफैले पालनपोषण गर्ने र शिक्षादिक्षा दिने भन्दै ६ वर्षको उमेरमा घरमा ल्याएर राखेकी बालिका रानीवन १’ (नाम परिवर्तन) माथि प्रहरीको बर्दी भिरेर जनताको रक्षा गर्छु भन्ने प्रहरी अधिकारीले गर्न मिल्ने र सक्ने सबै गरे । जोसँग न्याय र सुरक्षाको लागि हारगुहार गर्नुपर्ने थियो उनैले श्रम लुटे, मुख थुने, पछिल्लो ५ वर्ष देखि घरमा दास बनाएर शरीर लुटे ।

आज बालश्रम विरुद्धको अन्तराष्ट्रिय दिवस देशभर मनाइँदैछ । दिवसका नाममा तारे होटलमा हुने बिचार, गोष्ठी र भाषणमा बालबालिकाको हित र उनीहरूलाई श्रममा लगाउन नपाइने विषयमा बहस हुनेछन् । तर, दूरदराजका पहुँच बाहिरका मुख खोल्न नसकेका कयौँ पीडितको त कुरै छोडौँ तिनै अभियन्ताको नाकै मुनी काठमाडौँमै पछिल्लो ५ वर्ष देखि ‘रानीवन १’ ले भोगेको श्रम, शारीरिक र मानसिक शोषणको हृदयविदारक घटना आज हामी खुलासा गर्दैछौँ । जो ८ देखि १३ वर्षको उमेरसम्म निरन्तर ५ वर्ष यौन पिपाशु प्रहरी निरीक्षकको गिद्धे नजरको शिकार भइन ।

काठमाडौँको नागार्जुन नगरपालिका एक रानीवन क्षेत्र पछिल्लो समय नयाँ भिभिआइपी आवास क्षेत्रको रुपमा परिचित छ । नेता, निजामती कर्मचारी, सुरक्षा निकायका उच्च अधिकारी देखि व्यापार व्यवसायमा ख्याति कमाएकाहरुको नयाँ आवास क्षेत्र हो यो ।

त्यस क्षेत्रको चर्चित राधाकृष्ण मन्दिरबाट बायाँतर्फ लागेपछि भेटिने एउटा घरमा १३ वर्षीय  बालिका ‘रानीवन १’ बालश्रमिकको रुपमा कार्यरत छिन् । त्यो घर नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय बानेश्वरमा कार्यरत प्रहरी निरीक्षक विदुर शिवाकोटीको हो । ‘रानीवन १’ त्यो घरमा आएको ७ वर्ष भयो ।

रौतहट स्थायी घर भएकी ‘रानीवन १’ लाई इन्स्पेक्टर विदुर शिवाकोटीले घरमा ल्याउँदा जम्मा ६ वर्षकी मात्रै थिइन् । गरिब परिवारमा जन्मिएका धेरै सन्तानलाई पालनपोषण गर्न कठिन भएको परिवारको बाध्यतापछि शिवाकोटीले आफ्नै छोरी बनाएर राम्रो लालनपालन, शिक्षादिक्षा दिलाउने प्रलोभन देखाएर ‘रानीवन १’ लाई  ६ वर्षको उमेरमा आमाको काख छुटाएर काठमाडौँ ल्याएका थिए ।

शिवाकोटीको घरमा उनकी श्रीमतीसहितको परिवार पनि छ । सानो छँदा केही समय माया पाएकी उनले जब उमेर बढ्दै गयो त्यसपछि घरेलु बालश्रमिकको रुपमा परिणत भइन् । बिहान सबेरैबाट घरको काम गर्थिन् । १० बजे हतारहतार नजिकैको सरकारी विद्यालय पुग्थिन् । बेलुकी विद्यालयबाट फर्किएपछि फेरी घरको सबै काम सक्थिन् । आज भन्दा ५ वर्ष अघि ‘रानीवन १’ जब ८ वर्ष पुरा भइन । त्यसपछि उनीमाथि जीवनमा परिकल्पना नै नगरेको र उनलाई थाहै नभएको यौन शोषण जस्तो गम्भिर कुकृत्य घर मालिक सिवाकोटीबाट सुरु हुन्छ ।

‘जब साँझ हुन्थ्यो, घरका सबै जना सुतिसकेपछि म कहिले बैठक कोठाकै भुइँमा निदाउथेँ त कहिले भान्साको छेउ छेउमा । जब घरमा प्रहरीकी श्रीमती निदाउँथिन्, तब इन्स्पेक्टर शिवाकोटी मेरो बिस्तरामा आउँथे,’ महानगरको बाल उद्धार टोलीलाई ‘रानीवन १’ ले भनेकी छिन्, ‘कहिले बैठक कोठामा त कहिले किचन छेउका कोठामा म बारम्बार शिकार भएँ ।’

पछिल्लो अन्तिम पटकको घटनाका विवरण खुलाउँदै उनले बयानमा भनेकी छिन्, ‘जेठ १५ गते साँझ विदुर शिवाकोटी मेरो ओछ्‌यानमा आए, मेरो ओछ्यानमा सुतेर मेरो सबै कपडा खोलिदिए, उनले आफ्नो कपडा पनि सबै खोले… मेरो शरीरका भागहरू निर्चोन सुरु गरे, त्यसपछि….। म चिच्याउँथे शिवाकोटी मुख थुनिदिन्थे । मैले भोगेको यो क्रूरता पहिलो पटक थिएन ।’

यसअघि पनि पटकपटक यस्तै भएपछि उनले रौतहटमा रहेकी आफ्नी आमालाई फोन गरेर गुहार मागेकी थिइन् । तर, आमाले उल्टै इन्सपेक्टरकी श्रीमतीलाई फोन गरेर बालिकालाई मारे पनि आफूलाई केही फरक नपर्ने भनिदिएको उनले बयानमा खुलाएकी छिन् ।

पछिल्लो घटनापछि बिचलित भएकी उनले आफू रातभरि छट्पटिएको र निदाउन नसकेको तर बिहान उठेर आमालाई घटना सुनाउन मनै नलागेको महानगरको उद्धार टोलीलाई खुलाएकी छिन् । ‘प्रहरीलाई भन्न मलाई झन् डर लाग्थ्यो, किनकी मलाई शोषण गर्ने प्रहरी नै थिए, उदास हुँदै विद्यालय जान्थेँ फर्किन्थेँ,’ बयानमा भनिएको छ ।

जब स्कुलमा महानगरको स्वयंसेवक आए  

जेठ १५ गतेको त्रासदीले विक्षिप्त ‘रानीवन १ ’नजिकैको सरकारी विद्यालयमा पढ्थिन । आफूमाथिको शोषणबारे आफ्नै आमाबाट समेत उद्धार नपाएकी उनले विद्यालय र साथीहरूलाई समेत यो विषय खुलाएकी थिइनन् । तर, एक दिन स्कुलमा काठमाडौँ महानगरले खटाएको भन्दै केही स्वयंसेवकहरू आए । उनको कक्षामा पनि ति स्वयंसेवकले बाल श्रम र घरमा हुने बालबालिका माथिको शोषणका विरुद्ध महानगरका मेयर बालेन शाहले कडा कदम चाल्न लागेको भन्दै आफ्ना समस्या वा आफूले देखेको समस्या भए गोप्य तरिकाबाट खबर गरिदिन हटलाइन सम्पर्क नम्बर उपलब्ध गराए ।

‘रानीवन १’ ले कापीको पानामा उक्त नम्बर खुसुक्क टिपिन । अर्को दिन नै साथीको सहयोगमा उनले घरकाले थाहा नपाउने गरी आफूलाई उद्धार गरिदिन भन्दै महानगरको टोलीलाई घटना वृत्तान्त बताइन् । उनले आफू बस्ने घर र ठेगानाको परिचय पनि दिइन । बालिकाको सूचना र लोकेसन पछ्याउँदै महानगरको टोलीले अनुसन्धान सुरु गर्यो । दुई दिनको अथक प्रयास पछि जेठ २३ गते साँझ नागार्जुन नगरपालिका एकका जनप्रतिनिधिको सहयोगमा महानगरले प्रहरी निरीक्षक विदुर शिवाकोटीकै घरबाट ‘रानीवन १ ’को उद्धार गर्यो ।

‘उनको फोन आएलगत्तै महानगरको बाल उद्धार टोलीले उनी बस्ने घर, विद्यालय, टोलमा अनुसन्धान गर्न लाग्यौँ । सुरुमा उनी बस्ने घर टोल पहिचान गर्नै गाह्रो भयो, नागार्जुन नगरपालिकासँगको समन्वयमा उनको सबै विवरण भेटिँदासम्म दोस्रो दिन भइसकेको थियो, उनले फेरी फोन गरिन्’,  महानगरका सचिवालय सदस्य धिरज जोशीले भने, ‘आज आफ्नो उद्धार नभए, फेरी घटना दोहोरिने भन्दै अत्तालिइन् । लगत्तै महानगरको टोली उनी वर्षौँदेखि शोषित भएको प्रहरी इन्स्पेक्टरको घरमा पुग्यो । घरमा पुग्दा शिवाकोटीले केही पनि नभएजस्तो सामान्य व्यवहार गरिरहेका थिए । तर बालिका विचलित थिइन् ।’

धिरज जोशी / सचिवालय सदस्य

महानगरको उद्धार टोली, जनप्रतिनिधिसहितको टोलीले बालिकाको उद्धार गरेको र प्रहरी इन्स्पेक्टर शिवाकोटीलाई काठमाडौँ प्रहरी परिसर अन्तर्गतको स्वयम्भू वृत्तको जिम्मा लगाएको जोशीले बताए । उनका अनुसार बालिकालाई मनोपरार्शदाताहरुले चार चरणको परामर्शपछि अहिले अस्थायी संरक्षण गृहमा राखिएको छ । शिवाकोटीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

सिधा कुराबाट साभार

प्रकाशित मिति: Jun 12, 2024

प्रतिक्रिया दिनुहोस्