Logo
२० कार्तिक २०८१, मंगलबार
(October 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्रालय भन्छ ‘‘विप्लव र सिके राउतको अस्तित्व छैन”

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने उद्घोष गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सीके राउतका गतिविधि निष्प्रभावी बन्दै गएको निष्कर्षमा गृह मन्त्रालय पुगेको छ । यी दुई समूहले निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आए पनि उनीहरूसँग त्यस्तो सामथ्र्य नरहेको गृहको निष्कर्ष छ ।

‘मतदातालाई त्रसित बनाउने प्रयासबाहेक विप्लव समूहको कुनै अस्तित्व नरहेको’ रिपोर्टिङ सुरक्षा निकायले मन्त्रालयलाई गरेका छन् । प्रदेश नम्बर २ मा ‘सामान्य प्रभाव’ बनाएका राउत समूहसमेत अहिले प्रभावहीन बन्नुका साथै संगठन विस्तारसमेत गर्न नसकेर कमजोर बनेको गृहको ठहर छ ।

यद्यपि, राउतले मधेसका केही क्षेत्रमा बेला-बेला प्रशिक्षण र कार्यक्रम गरी अस्तित्व जोगाउने प्रयास गरिरहेको गृह स्रोतले जनाएको छ । स्रोतका अनुसार आफू कमजोर भएपछि राउतले अस्तित्वमै नरहेका केही भूमिगत समूहसँग सम्बन्ध स्थापित गरेको विषयमा अनुसन्धान भइरहेको छ।

गृहले निर्वाचन बिथोल्न खोज्ने जो कोहीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको छ । गृहका प्रवक्ता रामकृष्ण सुवेदीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा ल्याइसकेको जानकारी दिए ।

दलहरूले निर्वाचनका लागि बनाएका गठबन्धन बलियो हुँदै जाँदा विप्लव र राउतको निर्वाचन बिथोल्ने रणनीति असफल र निष्प्रभावी हुने मन्त्रालयको ठम्याइ छ । यद्यपि, उनीहरूका गतिविधिलाई नजिकबाट नियाल्न गृहले तीनवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको छ ।

वाम र लोकतान्त्रिक समूहबीच स्पष्ट गठबन्धन र तीव्र प्रतिस्पर्धात्मक भावना देखिएकाले उनीहरूबीच झडप हुने सम्भावनासमेत न्यून रहेको सुरक्षा निकायले रिपोर्टिङ गरेका छन् । यद्यपि, कार्यकर्ता तहको मतभेदले हुने सम्भावित झडपबारे गृहले सुरक्षा निकायलाई सतर्क गराइसकेको छ ।

प्रकाशित मिति: Oct 25, 2017

प्रतिक्रिया दिनुहोस्