एन्फाले विशेष साधारणसभाको निर्णय उल्ट्यायो
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले आफ्नो निर्वाचन साधारणसभा झन्डै एक महिना पछि सारेको छ । विशेष साधारणसभाले गरेको निर्णय उल्ट्याउँदै एन्फाको सोमबार बसेको कार्यसमिति बैठकले पदाधिकारीकै विरोधका बीच निर्वाचन साधारणसभा सार्ने निर्णय गरेको हो, जुन व्यावहारिक र एन्फाको विधानको समेत विरुद्धमा छ ।
एन्फाले आफ्नो चुनावी साधारणसभाको मिति निर्धारण गर्नका लागि गत २३ असोजमा बोलाएको विशेष साधारणसभाले आगामी २३ पुस (जनवरी ७) मा नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको थियो । तर, त्यसको महिना दिन पनि नबित्दै एन्फा कार्यसमिति बैठकले फिफा र एएफसीको प्रतिनिधिको उपस्थितिमा भएको विशेष साधारणसभाको निर्णयलाई समेत उल्ट्याएर आगामी माघ ११ गते चुनावी साधारणसभा गर्ने निर्णय गरेको हो ।
कार्यसमिति बैठकले प्रदेश र प्रतिनिधिसभाका लागि हुन लागेको आसन्न निर्वाचनका कारण आफ्नो निर्वाचन सार्नु परेको जनाएको छ । कार्यसमितिको सो निर्णयप्रति एन्फाका उपाध्यक्ष किशोर राईले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन् ।
एएफसी क्लब च्याम्पियनसिपमा थ्रीस्टारलाई दिइएको सहभागिताको अवसरलाई क्षतिपूर्तिको रूपमा पनि हेरिएको छ । गत वर्ष एएफसी कप प्ले अफका लागि छनोट भएको थ्रीस्टार एन्फाकै पदाधिकारीका कारणले उक्त प्रतियोगिता खेल्नबाट वञ्चित भएको थियो ।
त्यसबापत एन्फाले हालैमात्र थ्रीस्टारलाई एक करोड ५० लाख रुपैयाँ क्षतिपूर्तिसहित तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने सहमति भएको थियो ।