रवि लामिछानेका विरुद्धमा कुनै जाहेरी दर्खास्त नरहेको कास्की प्रहरीको सर्वोच्चलाई जवाफ
जिल्ला प्रहरी कार्यालय, कास्कीले सर्वोच्च अदालतलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विरुद्धमा जाहेरी दर्खास्त नरहेको जवाफ पठाएको छ।
नेपाल खबरमा सार्वजनिक एक खबरका अनुसार कास्की प्रहरीले सर्वोच्च अदालतको आदेशमा उल्लिखित दर्ता नम्बर पनि आधिकारिक नरहेको स्पष्ट पारेको छ।
प्रहरीले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चमा पठाएको जवाफमा लेखिएको छ, ‘प्रस्तुत विषयमा तालुक कार्यालयको च.नं. ३४२६. मिति २०८१।०२।२७ गतेको पत्र तथा सम्मानित सर्वोच्च अदालतबाट मिति २०८९।०२।२० गते भएको आदेशको प्रतिलिपिसमेत प्राप्त भई व्यहोरा अवगत भयो।
सो सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट भएको आदेशमा उल्लिखित द.नं.०८०-०११-०४२६/१२९, मिति २०८०।१०।२२ को जाहेरी दरखास्त यस कार्यालयको कसुर दर्ता किताबमा दर्ता भएको अभिलेखबाट नदेखिएको र उक्त दर्ता नम्बर यस कार्यालयको नभएको व्यहोरा सादर अनुरोध गरिएको छ।’
उक्त रिटमा थप सुनुवाइपछि सर्वोच्चले सोमबार अरू मिसिल पनि झिकाएको छ। बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनासम्बन्धी रुपन्देही जिल्ला अदालतमा विचाराधीन मुद्दाको मिसिल झिकाएर असार ४ मा पेसी चढाउन सोमबारको आदेशमा भनिएको छ।