Logo
७ आश्विन २०८१, सोमबार
(June 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीको शपथमा नयाँदिल्ली जाने प्रचण्डको तयारी

२४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् ।

मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएकाले उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने तयारीमा छन् ।

स्रोतले भन्यो, ‘मोदीले शपथ ग्रहण समारोहमा आउन निम्तो गर्नु भएको छ । तर कहिले जाने भन्ने निश्चित हुन बाँकी छ ।’

लोक सभा निर्वाचन परिणामपछि मोदीले बुधबार राजीनामा दिँदै मन्त्रिपरिषद भंग गरेका थिए । अब नयाँ मन्त्रिपरिषद गठनको तयारीमा उनी छन् । बुधबार बसेको गठबन्धनको बैठकले सर्वसम्मतीले मोदीलाई नेता चुन्दै तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो ।

राष्ट्रपतिबाट उनको नियुक्ति हुन र शपथ ग्रहण समारोहको दिन निश्चित हुन भने बाँकी नै छ । भारतीय मिडियाहरुका अनुसार शपथ ग्रहण समारोह ८ जुनमा हुने सम्भावना छ ।

मोदीले शपथ लिने दिन निश्चित भएलगत्तै प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली प्रस्थान गर्ने तयारीमा छन् । त्यसका लागि काठमाडौंस्थित भारतीय दूतावासबीच समन्वय भइरहेको स्रोतले बतायो ।

लोक सभा निर्वाचनमा भाजपा गठबन्धनले बहुमत हासिल गरेपछि प्रधानमन्त्री प्रचण्डले फोन गरेर मोदीलाई बधाई दिएका थिए । त्यही टेलिफोन कुराकानीको क्रममा मोदीले प्रचण्डलाई शपथ समारोहमा आउन निम्तो दिएका थिए । कुराकानी लगत्तै मोदीले सामाजिक सन्जाल एक्समार्फत् प्रधानमन्त्री प्रचण्डप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति: Jun 6, 2024

प्रतिक्रिया दिनुहोस्