Logo
५ आश्विन २०८१, शनिबार
(June 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३२ सय ९ सर्वसाधारणको बचतमा राप्रपा सांसद बस्नेत र ज्वाइँको रजाइँ

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित छिपछिपे सहकारीमा  ३२ सय भन्दा धेरै सर्वसाधारणले जम्मा गरेको रकम राप्रपाकी सांसद गीता बस्नेत र उनका ज्वाइँसमेतको मिलेमतोमा ठुलो अपचलन भएको दाबी गरिएको छ।  उनीहरूले काल्पनिक खाता खोलेर त्यसमा रकम बचत गर्दै मिलेमतोमा रकम अपचलन गरेको पाइएको हो ।

सहकारीका अध्यक्षसहित विभिन्न व्यक्तिहरूको मिलेमतोमा रकम स्थानान्तरण गर्नेदेखि बागमती प्रदेशमा कार्यालय रहेको सांसद बस्नेतका ज्वाइँको सहकारीसँग कारोबार सहकार्य गर्ने भनी निर्णय गरेर समेत अपचलन भएको पाइएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेस गरेको अभियोग पत्रमा असुलै हुन नसक्ने गरी कर्जा प्रवाह समेत भएको दाबी गरिएको छ।

‘सहकारीको सञ्चालक समिति तथा ऋण उपसमितिको निर्णय बिना सहकारीमा लगानी गर्ने, सहकारी ऐन २०७४ को दफा १२५ मा उल्लिखित व्यवस्था बमोजिम सहकारीको पुँजी कोषको १० प्रतिशत भन्दा अधिक हुने गरी बिना धितो कर्जा प्रवाह गर्ने, कर्जा प्रवाह गर्दाका बखतमा शेयर जमानी नै नराखी सञ्चालक समिति समेतले विभिन्न कालखण्डमा कर्जा लिने/दिने जस्ता कार्यहरू गरेको खुल्न आएकोले कर्जा नाममा कर्जा बुक गरी हिनामिना गरिएका प्रत्यक्ष सहकारीको बचतकर्ताको रकम तथा सहकारीको सम्पत्ति ठगी गरी नाम मात्रको कर्जा देखाई रकम निकासी गरिएको देखिन्छ ’ अभियोग पत्रमा भनिएको छ ‘ कर्जाहरू बाहेक बाँकी सबै कर्जा अन्तिम जिम्मेवारी सहकारी ऐन २०७४ को दफा ४३ को कर्तव्य भित्र परिभाषित हुने हुँदा पदीय जिम्मेवारीबाट कोही कसै पनि मुक्त हुन नसक्ने देखिन्छ ।’

छिपछिपे सरकारीमा  दैनिक काम गरी बचत गरेका ३२ सय ९ जनाको रकम राप्रपाकी सांसद गीता बस्नेतसहित सहकारीका अध्यक्ष योगेन्द्र पाण्डेसहित ३५ जनाको मिलेमतोमा अपचलन भएको भन्दै आइतबार मुद्दा दायर भएको हो ।

नवलपरासी पूर्व जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा ३५ जनाले काल्पनिक बचत खाता खोलेर सहकारी ठगी गरेको दाबी गरिएको छ।

सांसद  बस्नेतले सहकारीको करिब ९६ लाख रुपैयाँ कृष्णसार रिसोर्ट प्रालिको नाममा दाखिला गराएर हिनामिना गरेको  अभियोग पत्रमा उल्लेख छ ।  त्यस्तै उनले आफ्ना ज्वाइँ अध्यक्ष रहेको सनराइज सहकारीमा रकम दाखिला गर्न लगाएको अभियोग पत्रमा उल्लेख छ ।

सनराईज सेभिङ्ग एन्ड क्रेडिट नामको काल्पनिक बैङ्क खाता सृजना गरी उक्त खातामा  ८ लाख २६ हजार ८ सय २  रुपैयाँ जम्मा गराएको अनुसन्धानमा देखिएको थियो । यसैगरी सनराईजका अध्यक्ष नागेन्द्र रिमालको समेत काल्पनिक खाता सिर्जना गरी रकम बचत राखे बापत भनी ३८ हजार २ सय १० रुपैयाँ ब्याज समेत देखाइएको थियो ।

सहकारीको रकम अपचलनका लागि बस्नेतले आफ्नो ज्वाइँलाई उक्त सहकारीमा प्रवेश गराएको पनि अभियोग पत्रमा देखिन्छ ।  सांसद बस्नेतका ज्वाइँ रिमालको समेत उपस्थितिमा दुवै सहकारीका बिचमा सहकार्य गर्ने निर्णय समेत सञ्चालक समितिबाट अनुमोदन भएको र यो कार्यले सहकारीको रकम अपचलनलाई वैधता दिने कोसिस गरेको अभियोग पत्रमा उल्लेख छ।

२०७६ पुस ६ गते बागमती प्रदेशको चितवनमा रहेको सनराइज बचत तथा ऋण सहकारी संस्थासँग कारोबारमा सहकार्य गर्ने भनी सञ्चालक समितिबाट निर्णय गराइएको थियो ।

छिपछिपे सरकारीको रकम सनराइज सहकारीमा पटक पटक स्थानान्तरण भएको अभियोग पत्रमा उल्लेख छ। छिपछिपे उपभोक्ता सरकारी कावासोतीको शाखाबाट २०७९ पुस ६ गते २६ लाख ४२ हजार १ सय २० रुपैयाँ,२०७९ असोज २ गते २० लाख रुपैयाँ र २०७९ साउन २५ गते २५ लाख रुपैयाँ निकासा गरी  सनराइज सहकारीको चितवनको खातामा जम्मा गरिएको अभियोग पत्रमा उल्लेख छ।

अभियोग पत्रमा उल्लेख भएअनुसार  कुल १७ लाख ४० हजार ९ सय ३७ रुपैयाँ तत्कालीन अध्यक्ष योगेन्द्र पाण्डेबाट हिनामिना भएको देखिन्छ । अभियोग पत्रमा उनलाई ब्याजदरको सीमा १६ प्रतिशतले हुन आउने क्षतिपूर्ति  बराबरको बिगो र कैद हुनुपर्ने माग दाबी गरिएको छ।

त्यस्तै मिलेमतोमा जगेडा तथा कोषमा भएको हिनामिना भएको अभियोग पत्रमा उल्लेख छ।

सहकारी संस्थाको बाह्य लेखापरीक्षण भएको पछिल्लो आर्थिक बर्षको जगेडा तथा कोषहरू र वित्तीय प्रतिवेदनमा रहेको जगेडा तथा कोषको रकममा पनि फरक परेको देखिएको भन्दै उक्त रकम अपचलन गरेको देखिएको अभियोग पत्रमा उल्लेख छ।

‘बस्नेतले प्रतिवादीहरू योगेन्द्र पाण्डे, सञ्जीव कुमार महतो र नगेन्द्र बहादुर रिमाल समेतसँग  गठमेल गरी आफ्नो ज्वाइँ नगेन्द्र र उनका साथीहरू मार्फत सहकारीको सम्पत्ति प्रयोग गरी आफ्ना व्यक्तिगत कारोबार मिलान गर्न, आफूले सञ्चालन गरेको कृष्णसार रिसोर्टको जग्गा जमिन, भवन संरचना, डेकोरेसन लगायतका काममा प्रयोग गर्न, चुनावी खर्चका लागि प्रयोग गर्न, निजी सम्पत्ति आर्जन गर्न प्रयोग गरी लगेको, सहकारीको हिनामिना गरेको सम्पत्ति दबाउने मनसाय राखेको देखियो’ अभियोग पत्रमा भनिएको छ ‘  बस्नेतले आफ्नो उपस्थिति नजनाई रकम निकासी गरेको तथा छिपछिपे सहकारीको हिनामिना भएको करिब ९६ लाख  रकम हिनामिना समेत गणना गरी रकम कृष्णसार रिसोर्ट प्रा. ली. को नाममा सोझै दाखिला गराई हिनामिना गराएको देखिन्छ ।’

अर्कातर्फ गीताले राष्ट्रिय सहकारी बैंकमा तिर्न नसकेको कर्जाको रकम तिर्नसमेत सनराइज सहकारीको प्रयोग गरी करिब  ५४ लाख हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ।

त्यस्तै प्रतिवादी ढुण्डीराज गौतम, योगेन्द्र पाण्डे, नगेन्द्र बहादुर रिमाल, सञ्जीव कुमार महतोको बयानबाट समेत यो कुरा खुलेकाले सांसद बस्नेतलाई सहकारी ऐन, २०७४ को दफा १२२ को देहाय (त) बमोजिमको कसुर गरेको तथ्य पुष्टि हुन आएको अभियोग पत्रमा उल्लेख छ ।

मुद्दा दायर भएका मध्ये केही पक्राउ परेका छन् र सांसद बस्नेतसहित बाँकी २५ जना फरार छन् ।  उनीहरूको हकमा अदालतबाट म्याद जारी गर्न माग गरिएको छ ।

अभियुक्तलाई हुनुपर्ने सजाय  

‘उल्लेखित आधार प्रमाणहरूबाट प्रतिवादी योगेन्द्र पाण्डेले सहकारी ऐन, २०७४ को दफा १२२ को देहाय (ख), (ग), (घ), (ङ), (च), (छ), (ज), (ञ), (ट), (ठ) र (त) बमोजिमको कसुर गरेकोले क्षतिपूर्तिको महलमा उल्लेखित प्रतिवादीले हिनामिना गरेको बिगो रकमको आधारमा प्रतिवादीलाई सोही ऐनको दफा १२४ को उपदफा (१) को देहाय (क), (ख), (ग) र (घ) बमोजिम सजाय हुनुपर्ने  मागदावी  अभियोग पत्रमा गरिएको छ।

अभियोग पत्रमा प्रतिवादीहरू नगेन्द्र बहादुर रिमाल, बसन्त मोहन अधिकारी, प्रकाश सापकोटा, कृष्ण प्रसाद ज्ञवाली, शोभा शर्मा, जानकी क्षेत्री, रिता भुर्तेल, विक्रम कार्की, गोमतादेवी न्यौपाने, टेक बहादुर शाही, गोपिकृष्ण शर्मा, कमला कुमारी न्यौपाने पाण्डे, सुदिपा चापागाई, सुनिता कुमारी न्यौपाने, नर बहादुर वि.क., निम प्रसाद पाण्डे, श्यामलाल भुषाल, नरेन्द्र न्यौपाने, कृष्ण प्रसाद भुर्तेल, शिव सुवेदीलाई सहकारी ऐन, २०७४ को दफा १२२ को देहाय (ख), (ग), (घ), (ङ), (च), (ज) र (त) बमोजिमको कसुर गरेकोले क्षतिपूर्तिको महलमा उल्लेखित प्रतिवादीहरुले हिनामिना गरेको बिगो रकमको आधारमा सजाय हुन मागदावी अभियोग पत्रमा लिइएको छ।

प्रतिवादीहरू ढुण्डीराज गौतम, सरिता कुमारी के.सी. र प्रल्हाद उप्रेतीले सहकारी ऐन, २०७४ को दफा १२२ को देहाय (ख), (ग), (घ), (ङ), (च), (छ), (ज), (ठ) र (त) बमोजिमको कसुर गरेकोले क्षतिपूर्तिको महलमा उल्लेखित प्रतिवादीहरुले हिनामिना गरेको बिगो रकमको आधारमा  सोही ऐनको दफा १२४ को उपदफा (१) को देहाय (क), (ख), (ग) र (घ) बमोजिम सजाय हुनुपर्ने अभियोग पत्रमा माग दाबी गरिएको छ।

प्रतिवादीहरू विकाश सापकोटा, शान्ति बस्याल, तिर्थराज पैनी, संगिता चितौरे मगर, गिता बस्नेत, राम बहादुर लामा, सञ्जीव कुमार महतो, शिवलाल लामिछाने, राजेश मैनाली र माधव शर्माले सहकारी ऐन, २०७४ को दफा १२२ को देहाय (त) बमोजिमको कसुर गरेकोले क्षतिपूर्तिको महलमा उल्लेखित प्रतिवादीहरुले हिनामिना गरेको बिगो रकमको आधारमा निज प्रतिवादीहरुलाई सोही ऐनको दफा १२४ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुनुपर्ने अभियोग पत्रमा उल्लेख छ।

प्रकाशित मिति: Jun 3, 2024

प्रतिक्रिया दिनुहोस्