Logo
७ आश्विन २०८१, सोमबार
(June 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिमालयको आध्यात्मिक यात्रामा रजनीकान्त

काठमाडौं । भारतीय सुपरस्टार रजनीकान्त हरेक वर्ष १५ दिने आध्यात्मिक यात्राको लागि हिमालयको यात्रामा निस्कन्छन् । यतिबेला उनी नेपाल सीमावर्ती उत्तराखण्डमा छन् । उनले केही दिनअघि बद्रीनाथ र केदारनाथ दर्शन गरे ।

सामाजिक सञ्जाल प्लाटफर्ममा उत्तराखण्ड प्रहरीको आधिकारिक एकाउन्टबाट रजनीकान्तको तस्वीर सेयर गरिएको थियो । जसमा एक पुलिस अफिसरले रजनीकान्तलाई भेटेका छन् । उनले अभिनेतालाई केदारनाथ धामको स्मृति चिन्ह पनि उपहार दिएका छन् । सेयर गरिएको पोस्टमा भनिएको छ- ‘बद्रीनाथको दर्शन गरेपछि रजनीकान्त आनन्दित महसुस गर्दै हुनुहुन्छ ।’

रजनीकान्त हरेक वर्ष १५ दिने आध्यात्मिक यात्रामा जान्छन् । भारतीय न्युज एजेन्सी एएनआईलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘यस्तो पवित्र यात्राले मेरो प्रगतिलाई अगाडि बढाउँछ । यस आध्यात्मिक यात्रामा हरेक वर्ष मैले नयाँ अनुभव प्राप्त गरिरहेको छु । जनताको कल्याण, देशको सुख र समृद्धिको लागि भगवानसँग प्रार्थना गर्दछु ।’

रजनीकान्तले अगाडि भने, ‘आध्यात्मिक हुनुको अर्थ शान्ति र शान्तिको आवश्यकता हो । आज सम्पूर्ण विश्वलाई अध्यात्मको ठूलो आवश्यकता छ, किनकि यो हरेक व्यक्तिको लागि धेरै महत्वपूर्ण छ ।’

कामको कुरा गर्दा रजनीकान्त पछिल्लोपटक छोरी ऐश्वर्याद्वारा निर्देशित फिल्म ‘लाल सलाम’मा केमियो रोलमा देखिएका थिए । हालै उनले आफ्नो फिल्म ‘वेट्टियान’ को सुटिङ पूरा गरेका छन् । यस फिल्ममा अमिताभ बच्चन, फहद फाजिल र राणा दग्गुबाती पनि विशेष भूमिकामा देखिनेछन् ।

 

प्रकाशित मिति: Jun 2, 2024

प्रतिक्रिया दिनुहोस्