Logo
१ मंसिर २०८१, शनिबार
(May 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीर अस्पतालको आकस्मिक कक्ष सार्न मन्त्रीको निर्देशन

१५ जेठ, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको पुरानो भवनमा रहेको आकस्मिक कक्षलाई नयाँ भवनमा सार्न स्वास्थ्यमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले वीर अस्पतालको अनुगमनको क्रममा आकस्मिक कक्षलाई सर्जिकल भवनमा सार्न निर्देशन दिएका हुन् ।

आकस्मिक कक्षमा बिरामीले भोग्नुपरेको सास्तीलाई सहजीकरण गर्न मन्त्री यादवले एक महिनाभित्र सार्ने निर्देशन दिएको न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले बताए ।

वीरको आकस्मिक कक्षमा ४५ बेड छन् । तर दैनिक १५० जनासम्म बिरामी सेवाका लागि आउने गरेका छन् ।

गम्भीर अवस्थामा पुगेका बिरामीका लागि छिटो र गुणस्तरीय सेवा दिन अस्पतालका आकस्मिक कक्षको आफ्नै मापदण्ड हुन्छ । तर गुणस्तरीय सेवा दिन बनेका वीरको आकस्मिक कक्ष भने आफैंमा अस्तव्यस्त अवस्था छ ।

आकस्मिक कक्षमा बिरामी आइपुगेको ६ घण्टाभित्र भर्ना गरिसक्नुपर्ने र भर्ना गर्न नसकेकालाई अन्य अस्पतालमा उचित सूचना दिएर रेफर गर्नुपर्ने नियम छ । तर यस्तो प्रक्रिया भने अपनाउन नसकिएको अस्पतालका चिकित्सक बताउँछन् ।

यल्लो र ग्रीन क्षेत्रमा भएका ८० प्रतिशत बिरामीलाई वार्डमा भर्ना गर्न २४ घण्टाभन्दा बढी कुर्नुपर्ने अवस्था छ । तर बाँकीले तीन–चार दिनसम्म पनि भर्नाका लागि आकस्मिक कक्षमै कुर्नुपर्छ । आकस्मिक कक्षमा एउटा बेडमा तीन जनासम्म बस्नुपर्ने अवस्था छ ।

डा. बस्नेतले पुरानो भवनको आकस्मिक कक्ष निकै साँधुरो भएका कारण बिरामीले सहज रूपमा सेवा पाउन नसकेको बताए । बस्नेतले  भने, ‘मन्त्रीज्यूले निरीक्षणको क्रममा सार्नका लागि निर्देशन दिनुभएको छ । भवन विभागका इन्जिनियरलाई कसरी आकस्मिक कक्षलाई सार्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौं ।’

इन्जिनियरले नयाँ सर्जिकल भवनको भुई तल्लाको सिटी स्क्यान, एक्सरे, एमआरई रहेको स्थानमा सार्ने नमिल्ने बताएका छन् । तर अर्कोतर्फको भागमा आकस्मिक कक्ष बनाउन सकिन्छ कि भन्ने विषयमा छलफल चलिरहेको डा. बस्नेतले बताए ।

‘इन्जिनियरले भवनको अवस्था, आकस्मिक कक्षका लागि बनाउन सकिने क्षेत्रलगायत विषयमा अध्ययन गरेर दिएको सुझावका आधारमा आकस्मिक कक्ष सार्न सकिन्छ,’ डा. बस्नेतले भने, ‘हाम्रो आवश्यकता पूरा हुने भयो भने आकस्मिक कक्षलाई सार्न सकिन्छ ।’

पुरानो भवनमा हाल ४२ शय्या क्षमताको आकस्मिक कक्ष नयाँ भवनमा सरेपछि शय्या संख्या थप हुने उनले बताए ।

प्रकाशित मिति: May 28, 2024

प्रतिक्रिया दिनुहोस्