Logo
७ आश्विन २०८१, सोमबार
(May 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अत्यधिक गर्मीका कारण वीरगञ्ज र नेपालगञ्जका विद्यालय विदा

१४ जेठ, काठमाडौं । अत्यधिक गर्मी बढेपछि तराईका केही पालिकाहरूले विद्यालय विदा दिन थालेका छन् । नेपालगञ्ज उप-महानगरपालिका र वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय विदा दिएको छ ।

वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख तथा सूचना अधिकारी अरबिन्दलाल कर्णले अनुगमनको क्रममा बालबालिकालाई गर्मीका कारण समस्या भइरहेको पाइएपछि वर्षे विदा कटौती गर्ने गरी बुधबार, बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘यहाँ बिहान ७ बजेपछि पसिनाले भिज्ने अवस्था छ यस्तोमा बालबालिकालाई गाह्रो हुन्छ भनेर ३ दिनको विदा दिइएको छ ।’ मंगलबार सार्वजनिक विदा भएकोले बुधबारदेखि विदा दिने निर्णय भएको उनले बताए ।

त्यस्तैगरी नेपालगञ्ज उप–महानगरपालिकाले पनि तीन दिन विदा दिने निर्णय गरेको जनाएको छ । नगर शिक्षा अधिकारी गोर्खबहादुर थापाले त्यसपछि अवस्था अनुसार विदा दिने नदिने निर्णय हुने बताए ।

उनले भने, ‘अहिले तीन दिनको लागि विदा दिइएको छ । त्यसपछि तापक्रम कस्तो हुन्छ त्यसैको आधारमा विदा दिने नदिने निर्णय हुन्छ ।’

प्रकाशित मिति: May 27, 2024

प्रतिक्रिया दिनुहोस्