Logo
६ आश्विन २०८१, आईतबार
(May 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस नेताहरुलाई प्रधानमन्त्रीको आग्रह नीति तथा कार्यक्रम पेस हुन दिनुस्, सहकारीको समस्या समाधान गर्छु

१ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगरिदिन नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् ।

कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकलाई आज बिहान बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री प्रचण्डले सहकारीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै संसदमा अवरोध नगरिदिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीको उक्त आग्रहमा कांग्रेस नेताहरुले संसदीय दलको बैठकमा छलफल गर्ने बताएका थिए ।

प्रधानमन्त्रीसँगको छलफलपछि नेपाली कांग्रेसका प्रमुख सचेतक लेखकले भने, ‘प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणमा भएको समस्या समाधानका लागि मैले पूरै कोसिस गरिराखेको छु, मैले समस्या समाधान गर्छु, तपाईंहरुले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सहयोग गरिदिनुस् भन्नुभयो ।’

नेता लेखकले थपे, ‘सहकारीको समस्या समाधान गर्छु भन्ने प्रधानमन्त्रीको अभिप्राय छ । हामी त्यसलाई व्यवहारमा देख्न चाहन्छौं ।’

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो बस्ने संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम बाचन गर्दैछन् । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठन नभए नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने चेतावनी कांग्रेसले दिएको छ ।

कांग्रस संसदीय दलको बैठक अघि नेताहरु प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए । नेता लेखकले प्रधानमन्त्रीले बोलाएपछि महामन्त्री गगन थापा र आफू बालुवाटार पुगेर पार्टीको धारणाबारे जानकारी गराएको बताए ।

प्रकाशित मिति: May 14, 2024

प्रतिक्रिया दिनुहोस्