Logo
१३ मंसिर २०८१, बिहीबार
(March 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्रीय सत्ता समीकरण फेरिँदा बागमती प्रदेशमा राजनीतिक सङ्कट बढ्ने

केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै बागमती प्रदेशमा राजनीतिक सङ्कट बढ्ने देखिएको छ । केन्द्रमा माओवादी केन्द्र, नेकपा एमाले, रास्वपा, जसपासहितको गठबन्धन बनेसँगै प्रदेशहरुमा पनि सोही अनुसार सरकार फेरबदल हुने सम्भावना बढेको छ । तर बागमतीमा नयाँ गठबन्धनलाई सरकार गठनका लागि त्यति सहज हुने देखिँदैन ।

बागमतीमा हाल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य शालिकराम जम्कट्टेलले गरिरहेका छन् । बागमती सरकारमा माओवादी केन्द्रका ३, कांग्रेसका ६ र एकीकृत समाजवादीका २ मन्त्री छन् । केन्द्रीय सत्ता समीकरण अनुसार जाने हो भने बागमती सरकारबाट कांग्रेस र एकीकृत समाजवादी बाहिरिने छन् । जसले माओवादी केन्द्रका मुख्यमन्त्री जम्कट्टेलमाथि सङ्कट पर्ने देखिन्छ ।

११० सदस्यीय बागमती प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७ र माओवादी केन्द्रका २१ सांसद छन् । बहुमतका लागि कम्तीमा ५६ सांसद आवश्यक पर्दछ । तर एमाले र माओवादी केन्द्रका गरी जम्मा ४८ सांसदमात्र हुन्छन् । केन्द्रीय सत्ता गठबन्धनमा आबद्ध अन्य कुनै पनि दल बागमती प्रदेशसभामा छैनन् । त्यसैले माओवादी केन्द्र र एमालेले बहुमतका लागि आवश्यक थप ८ सांसदको समर्थन कहाँबाट जुटाउने भन्ने प्रस्ट हुन सकेको छैन ।

प्रदेशसभामा एकीकृत समाजवादीका ७, राप्रपाका १३, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल केन्द्रीय समीकरण अनुसार सरकार फेरबदलबारे तत्काल यसै भन्न सक्ने अवस्था नरहेको बताउँछन् ।कुराकानीमा उनले केन्द्रीय निर्णय प्राप्त नभएकाले अहिले नै केही भन्न नसकिने बताए । नयाँ समीकरणको निर्णय र निर्देशन प्राप्त भएपछि सरकारको विषयमा ठोस निर्णय हुने उनको भनाइ छ ।

उनले भने, ‘सरकारका विषयमा विभिन्न विकल्प छन् । नयाँ समीकरण वा वर्तमान समीकरण भन्ने विषयमा छलफल गरेर अघि बढ्छौँ । अहिले केन्द्रमा परिवर्तन भयो भन्ने कुरा आएको छ । हेरौँ के हुन्छ !’

नेपाली कांग्रेस पनि प्रदेश सरकारको विषयमा ‘पर्ख र हेर’को नीतिमा छ । केन्द्र र प्रदेशमा फरक समीकरण बन्न पनि सक्ने कांग्रेसको भनाइ छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार सत्ता समीकरणका विषयमा अहिले नै ठोस निष्कर्ष दिन उचित हुँदैन । राजनीतिमा सम्भावना र विकल्प धेरै रहेकाले अहिले नै केही भन्न सक्ने अवस्था नरहेको उनले बताए ।

यता एकीकृत समाजवादी भने केन्द्रीय समीकरण अनुसार प्रदेश सरकारको समीकरण निर्माण गर्नुपर्ने पक्षमा छ । सो पार्टीका एक नेताका अनुसार केन्द्रमा बनेको नयाँ समीकरणको सरकारमा एकीकृत समाजवादी सहभागी हुने छैन । सोही अनुसार प्रदेशको समीकरण बनाएर अघि बढ्नुपर्ने उनले बताए । बागमती प्रदेशमा फरक धारको सत्ता समीकरण बनाउन दलहरू अघि बढ्नुपर्ने उनको भनाइ छ ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले प्रदेश सरकार परिवर्तनको सम्भावना प्रबल रहेको बताए । केन्द्रकै समीकरण अनुसार प्रदेश सरकार बनाउने सम्भावना रहे पनि सङ्ख्यात्मक विषय निर्णायक हुने उनको भनाइ छ ।

बागमती प्रदेशमा केन्द्रीय सरकारको जस्तो सहज अवस्था नरहेकाले सङ्ख्यात्मक रूपमा केन्द्रीय समीकरण अनुसार अघि बढ्ने विषयमा छलफल गरेर अघि बढ्ने उनको भनाइ छ ।

पौडेल बागमतीमा नयाँ समीकरण अनुसार सरकार बनाउन पर्याप्त सङ्ख्या नभएकाले राप्रपा वा समाजवादीलाई मिलाएर अघि बढ्नुपर्ने अवस्था रहेको बताउँछन् ।

  • हामी आन्दोलनमा छौँ : राप्रपा

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले सरकार परिवर्तनमा आफूहरूलाई खासै चासो नरहेको बताए । विगतमा हतारमा निर्णय गर्दा २ महिनामै सरकार ढलेको बताउँदै उनले केन्द्रको सरकार परिवर्तन र प्रदेशको समीकरणका विषयलाई आफूहरूले हेरिरहेको तर कुनै योजना नबनाएको प्रस्ट पारे ।

नागरिकले राप्रपालाई प्रतिपक्षको भूमिका दिएको र सोही अनुसार जनताको मुद्दा लिएर राप्रपा आन्दोलनमा होमिएको उनको भनाइ छ ।

‘हामी सरकार र सत्ता समीकरणको जोडघटाउ हेरिरहेका छौँ । अहिले नै हतार गरेर अघि बढ्नु हुन्न भन्ने हाम्रो निष्कर्ष हो,’ उनले भने, ‘विगतमा हतार गर्दा २ महिना पनि टिक्न सकेनौँ । हामीलाई जनताले प्रतिपक्षको भूमिकाको म्यान्डेट दिएका छन् । त्यसैले सरकार र सत्ता समीकरणका विषयमा योजना बनाएका छैनौँ । हामी आन्दोलनमा छौँ ।’

  • निर्णायक भूमिकामा राप्रपा

बागमती प्रदेश सरकार गठनका लागि नयाँ गठबन्धनमा राप्रपा निर्णायक शक्तिको रूपमा देखिएको छ । राप्रपा नयाँ गठबन्धनसँग मिल्दा सहजै सरकार गठन हुन सक्छ भने कांग्रेससँग तालमेल गरेको खण्डमा पनि सरकार गठनमा बहुमत पुग्न सक्छ ।

  • के के छन् विकल्प ?

१. एमाले, माओवादी र राप्रपाको तालमेल

बागमती प्रदेशमा एमालेका २७, माओवादी केन्द्रका २१ र राप्रपाका १३ सांसद छन् । यी तीन दल मिलेको खण्डमा सहजै सरकार गठन हुन सक्छ ।

२. कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको सहकार्य

सरकार गठनको दोस्रो विकल्पमा कांग्रेसले एकीकृत समाजवादी र राप्रपासँग सहकार्य गर्न सक्छ । सरकार गठनका लागि आवश्यक ५६ जनामध्ये कांग्रेससँग ३७ सांसद छन् । कांग्रेसलाई अन्य १९ जना सांसदको समर्थन आवश्यक हुन्छ । यी तीन दल मिल्दा सरकार गठनका लागि ५७ जना सांसदको साथ हुने देखिन्छ ।

३. कांग्रेस र एमाले तालमेल

बागमती प्रदेशमा कांग्रेस र एमालेबिच तालमेल भएको खण्डमा पनि सरकार बन्न सक्छ । कांग्रेस र एमाले मिल्दा बागमती प्रदेशसभामा ६४ जना सांसद पुग्छन् । यस विकल्पको सम्भावना भने अत्यन्त न्यून देखिन्छ ।

४. कांग्रेस र माओवादी केन्द्रको सहकार्य

सरकार गठनका लागि कांग्रेस र माओवादी केन्द्रको तालमेल पनि विकल्प हुन सक्छ । यी २ दलको सहकार्यमा सहजै बहुमत पुग्छ । कांग्रेससँग ३७ र माओवादीसँग २१ गरी जम्मा ५८ सांसदको समर्थनमा नयाँ सरकार गठन हुन सक्छ ।

केन्द्रमा एमालेसँग सहकार्य गरेको माओवादीले प्रदेशका लागि कांग्रेससँगै सहकार्य गर्ने सम्भावना भने कम छ ।

प्रकाशित मिति: Mar 5, 2024

प्रतिक्रिया दिनुहोस्