Logo
३ कार्तिक २०८१, शनिबार
(March 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा उथलपुथलका ३६ घण्टा

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान ८ः३० देखि सोमबार बेलुका ८ः३० सम्म करिब ३६ घण्टाभित्र निकै उथलपुथल भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्ष २ महिना १० दिनमा फेरि पुरानै सत्ता समीकरण (एमाले–माओवादी) बिउँताएका छन् ।

सोमबार अपराह्न ५ बजे नयाँ गठबन्धनको सरकार बन्यो । एमाले, माओवादी र रास्वपाबाट एक – एक मन्त्री समेटेर प्रधानमन्त्री प्रचण्डले सरकार पुनर्गठन गरे । मन्त्रीमण्डल पुनर्गठन भएसँगै कांग्रेससँगको एक वर्षे सहयात्रा टुटेको हो ।

संयोग नै मान्नुपर्छ, गत वर्ष फागुन १२ गते प्रधानमन्त्री निवास बालुवाटारमा एमालेसँग सम्बन्ध विच्छेद गरी प्रचण्डले कांग्रेससँग सत्तामा सहकार्य गरेका थिए ।

एक वर्ष ९ दिन सत्ता सहकार्य गरेको कांग्रेससँग सम्बन्ध विच्छेद गरी उनी पुनः एमालेसँग सहकार्य गर्न आइपुगेका छन् । १४ महिनामा उनले तीन पटक सत्ता समीकरण बदलेका छन् । उनको यो चरित्रलाई कतिपयले धोकाधडीको राजनीतिका रुपमा अर्थ्याएका छन् भने कतिपयले बाध्यताको उपजका रुपमा हेरेका छन् । कुनै परिस्थिति हेरेर तत्काल निर्णय लिन माहिर प्रचण्डको यो कदमले राजनीतिमा हलचल नै ल्याइदिएको छ ।
  • बालुवाटारमा ३६ घण्टा

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ८ः३० बजेदेखि १० बजेसम्म प्रचण्डले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटघाट गरे । भेटमा संसदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

त्यसपछि प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरे । रवि दुग्ध किसानका समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन बालुवाटार पुगेका थिए । रविसँग सत्ता फेरबदलको विषयमा कुनै कुरा नभएको सचिवालयले दाबी गरेको थियो ।

यद्यपि प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द आचार्यले भर्खरै सम्पन्न कांग्रेस महासमिति बैठकले हिन्दु धर्म, जनयुद्ध सम्बन्धमा गरेको टिप्पणी संविधान तथा गठबन्धनको भावना विपरीत भएकाले सहकार्य भङ्ग हुने संकेत गरेका थिए । साथै भित्रभित्रै एमाले र माओवादीका दोस्रो तहका नेताहरूले वामपन्थी सरकार गठनको गृहकार्य जारी राखेका थिए ।

कांग्रेस–माओवादी गठबन्धन टुट्ने लगभग निश्चित भएपछि प्रधानमन्त्रीलाई भेट्न वर्षमान पुन, नारायणकाजी श्रेष्ठ लगायत नेताहरू साँझ बालुवाटार गएका थिए । नेताहरूसँग छलफलपछि प्रधानमन्त्रीले सोमबार बिहान ८ बजे गठबन्धनको बैठक बोलाएका थिए ।

त्यसलगत्तै प्रधानमन्त्रीलाई भेट्न एमालेका अध्यक्ष ओली महासचिव शंकर पोखरेललाई लिएर बालुवाटर गए । त्यसपछि रवि लामिछाने र जसपाका अध्यक्ष उपेन्द्र यादवसमेत बालुवाटार गएका थिए ।

राति ११ बजेसम्म शीर्ष नेताहरूबिच एक्लाएक्लै र सामूहिक भेट भएको माओवादी केन्द्रका उपमहासचिव पुनले स्वीकारे । उनका अनुसार विगतमा भएका कमजोरीको समीक्षा, शान्ति प्रक्रियाको बाँकी काम, सुशासनका काम सम्पन्न गर्न प्रधानमन्त्रीमा प्रचण्डलाई निरन्तरता दिने गरी नयाँ समीकरण बनाउने सहमति भएको थियो ।

बाँकी विषय आ–आफ्नो दलमा छलफल गरी निर्णय गर्ने गरी नेताहरू बालुवाटारबाट बाहिरिएका थिए । दलहरूबिच भएका सहमतिका विषयमा छलफल गर्न प्रचण्डले सोमबार बिहान माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बोलाए । बैठकमा कांग्रेससँग सहकार्य भङ्ग गर्नुको अवस्थाबारे उनले पार्टीका पदाधिकारीहरूलाई जानकारी गराएका थिए ।

मन्त्रीमण्डल फेरबदलमा कांग्रेसले सहयोग नगरेको, महासमिति बैठकले जनयुद्ध र धर्मनिरपेक्षतालाई संविधानविपरीत अस्वीकार गरेको, कोशी प्रकरणमा पटक पटक धोका दिएकाले समग्र कम्युनिस्ट आन्दोलन कमजोर हुन नदिन नयाँ समीकरण बनाउन बाध्य भएको बिफ्रिङ प्रचण्डले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

माओवादी बैठक चलिरहेकै बेला करिब १० बजेतिर ओली एमाले सचिवालय निर्णयसहित बालुवाटार प्रवेश गरे । त्यसपछि रास्वपाका सभापति रवि, जसपा अध्यक्ष उपेन्द्र, नाउपाका अध्यक्ष रेशम चौधरी बालुवाटार गएका थिए । पदाधिकारी बैठक सकिए लगत्तै प्रधानमन्त्री प्रचण्डले नेताहरूसँग छुट्टाछुट्टै र सामूहिक छलफल गरेका थिए ।

सरकारमा जाने विषयमा सहमति नभएपछि नाउपाका अध्यक्ष रेशम चौधरी ११ बजे बालुवाटारबाट बाहिरिए । नाउपाले सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गरेको छ ।

चौधरी बाहिरिएपछि एमाले, माओवादी, रास्वपा र जसपाले केन्द्रदेखि प्रदेशसम्म प्याकेजमै सहमति गर्न चार दलीय कार्यदल बनायो । पहिलो चरणमा केन्द्रमा तीन दलबाट तीन जना सहभागी हुने गरी मन्त्रीको नाम टुङ्ग्याएपछि ओली बालुवाटारबाट बाहिरिएका थिए ।

प्रचण्ड मन्त्रीमण्डल पुनर्गठनबारे राष्ट्रपतिलाई जानकारी दिन शीतल निवास गए । करिब आधा घण्टामा उनी बालुवाटार फर्किए । दिउँसो २ बजे सहिद प्रतिष्ठानले गरेको अन्तर्क्रियामा भाग लिन राष्ट्रिय सभागृह गएका उनी साढे तीन बजेतिर बालुवाटार फर्किका थिए ।

प्रचण्ड बालुवाटार फर्किएलगत्तै ओली, उपेन्द्र, रवि लगायत नेताहरू बालुवाटार प्रवेश गरे । त्यतिबेलासम्म शंकर, वर्षमान, विष्णु पौडेल, राजेन्द्र श्रेष्ठ लगायत नेताहरू बालुवाटारमै थिए ।

गठबन्धन दलहरूबिच सहमतिपत्र तयार भएपछि नयाँ मन्त्रीहरूको शपथग्रहका लागि शीर्ष नेताहरू पौने पाँच बजे बालुवाटारबाट शीतल निवास गएका थिए । शपथग्रहणपछि नेताहरू फेरि बालुवाटार फर्किएर छलफलमा जुटेका थिए । बाँकी सिट बाँडफाँटको विषय मंगलबार टुङ्ग्याउने गरी ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरी चार दलका शीर्ष नेताहरू बाहिरिएका थिए ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । विकसित राजनीतिक घटनाक्रमबारे नेपाललाई जानकारी गराएर उनी बालुवाटार फर्र्किएका थिए ।

प्रकाशित मिति: Mar 5, 2024

प्रतिक्रिया दिनुहोस्