आज प्रधानमन्त्रीद्धारा भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक उद्घाटन
चितवनको भरतपुर महानगरपालिकाले ‘घुमौं भरतपुर’ भन्ने नाराका साथ आज भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक उद्घाटन गर्दैछ ।
नारायणी नदी किनारमा हुने भरतपुर भ्रमण वर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ ।
भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन सबै जसो पूर्वप्रधानमन्त्रीहरु चितवन आउन लागेको विषयले यतिबेला सबैको ध्यान तानेको छ ।
सत्ता गठवन्धनमा आवद्ध नेता र पूर्वप्रधानमन्त्री आउनुलाई स्वाभाविक रुपमा हेरिए पनि प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत कार्यक्रममा सहभागी हुने विषयलाई महत्वका साथ हेरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भ्रमण वर्ष उद्घाटन गर्न बिहीबार साँझ नै चितवन आइसकेका छन् ।
सबैभन्दा पहिले एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपाल चितवन आएका छन् । आज सोही पार्टीका सम्मानित नेता एवम झलनाथ खनाल, कांग्रेस सभापति शेरबहादुर देउवा, मन्त्री परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी आउँदैछन् ।
यस्तैं, एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दिउँसो पौने १ बजे हेलिकोप्टरमा चितवन आउने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए ।
ओली सोही हेलिकोप्टरमा मकवानपुरमा हुने अर्को एक कार्यक्रममा पनि सहभागी भएर काठमाडौं फर्किने कार्यक्रम तय भएको न्यौपानेले जानकारी दिए ।
भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछाने पनि चितवन आउँदैछन् ।
रास्वपाका एक नेता राजेन्द्र अर्यालले दिएको जानकारी अनुसार उनी दिउँसो १२:३० बजेको उडानबाट भरतपुर आउने कार्यक्रम तय भएको हो ।
कार्यक्रममा अर्को पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई निमन्त्रणा गरिएको भए पनि उनी पार्टीको कामको व्यस्तताले आउन नसकेको महानगरपालिकाले जनाएको छ ।
उद्घाटन समारोहमा ५० हजार सहभागी गराउने महानगरपालिकाको दाबी छ । प्रधानमन्त्री प्रचण्डले पानसमा दीप बालेर भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने र सबै पूर्वप्रधानमन्त्रीहरुले वेलुनमा भ्रमण वर्षको लोगो राखेर उडाउने कार्यक्रम तय भएको कार्यक्रम सञ्चालक प्रकाश ज्ञवालीले जानकारी दिए ।