Logo
३ आश्विन २०८१, बिहीबार
(January 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ता गठबन्धनमा राष्ट्रियसभा सदस्यको १९ सिटमा क्लस्टर भागबन्डा

राष्ट्रिय सभामा रिक्त १९ सिटमध्ये नेकपा एकीकृत समाजवादीले तीन सिटको दाबी नछोडेपछि सत्ता गठबन्धन दलहरूको बैठक टुंगोमा नपुगी सकिएको छ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दुई सिट लिन गरेको आग्रह समाजवादीले अस्वीकार गरेको हो।

‘तीन सिटको हाम्रो दाबी यथावत् छ,’ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘उहाँहरूले दुई सिटमात्रै दिनसक्ने बताएपछि लौ जे गर्नुछ तपाईंहरू नै गर्नुस् भनेर हामी उठेर हिंड्यौं।’

बैठकमा एकीकृत समाजवादीका उपमहासचिव घनश्याम भूसालले आफूहरू तीन सिटभन्दा तल नझर्ने बरू एक्कै चुनाव लड्ने बताएका थिए। उनले यसो भनेपछि बैठकमा कुरा मिल्न सकेको थिएन।

बैठकपछि समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भूसाललाई उसो भए गठबन्धन छोड्ने त भनेर सोधेका थिए।

जवाफमा भूसालले हामी राजनीतिक प्राणी हौं राजनीतिक रूपमा चुनाव लड्न सक्छौं भनेर जवाफ दिएको स्रोतले बतायो।

तर गठबन्धनका कांग्रेस र माओवादी भने नेपालले आफ्नो सचिवालयलाई २ सिट लिने विषयमा सहमत गराउनेमा विश्वस्त रहेको स्रोतको भनाइ छ।

‘अहिले उहाँहरू उठेर जानुभएको छ, माधव नेपालले २ सिट लिनेमा आफ्ना नेताहरूलाई सहमत गराएर आउनुहुनेछ भन्ने हाम्रो विश्वास छ,’ कांग्रेसका एक नेताले  भने।

समाजवादीले सिटमा टुंगो नलगाएकाले बागमती, गण्डकी र कर्णाली प्रदेशको सिट र क्लष्टरको भागबण्डा मिलेको छैन।

उपाध्यक्ष पाण्डेका अनुसार अब के गर्ने भन्नेबारे सचिवालय बैठकले निर्णय गर्ने बताए। समाजवादीको सचिवालय बैठक अहिले सुरू भएको छ।

शनिबार राती अबेरसम्म बसेको गठबन्धन दलहरूको बैठकमा कांग्रेसलाई १०, माओवादीलाई ६, एकीकृत समाजवादीलाई २ र जनता समाजवादीलाई १ सिट दिने प्रस्ताव आएको थियो।

जसमध्ये कोशीमा कांग्रेस र माओवादीले १/१ लिनेछन्। कोशीमा कांग्रेसले अन्य र माओवादीले महिला लिने सहमति भएको छ।

सहमतिअनुसार मधेसमा कांग्रेसले अन्य र जसपाले महिला गरेर १/१ सिट लिनेछन्।

लुम्बिनीमा कांग्रेसले महिला र माओवादीले अन्य १/१ र सुदूरपश्चिमा कांग्रेसले अन्य, अपांगता भएका र पछाडि पारिएकाबाट १ र माओवादी महिला गरी १/१ सिट लिने सहमति भएको छ।

कर्णाली, बागमती र गण्डकीको भागवण्डामा दलहरूबीच कुरा मिल्न सकेन।

कांग्रेस नेता रमेश लेखकले भने सत्ता गठबन्धन दलहरूबीच सहमतिमै साझा उम्मेदवारी दिने सहमति भएको बताए। बैठकपछि बालुवाटारमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सिटमा उम्मेदवारी दिने बताए।

प्रकाशित मिति: Jan 7, 2024

प्रतिक्रिया दिनुहोस्