बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न अदालतको आदेश
उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले बिहीबार नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई ३० लाख रुपैंया धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कांग्रेस नेता बालकृष्ण खाँण उच्च अदालतको आदेशमा रिहा हुने भएका हुन् ।
यसअघि १५ मंसिरमा उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासले खाँणलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने विषयमा निर्णय दिन सकेको थिएन ।
खरेलले खाँणलाई पुर्पक्षका लागि थुनामा पठाउने राय दिएका थिए भने न्यायाधीश पाण्डेले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा रिहा राय दिएका थिए ।
न्यायाधीशबीच राय बाझिएपछि उक्त मुद्दा उच्च अदालतकै तेस्रो न्यायाधीशको इजलासमा पठाइएको थियो । सोही मुद्दामा बिहीबार न्यायाधीश कोइरालाले पाण्डेको रायलाई समर्थन गरेपछि खाँण रिहा हुने भएका हुन् ।