Logo
४ आश्विन २०८१, शुक्रबार
(December 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मैले सचिवलाई दिएको निर्देशनको परिणाम निराशाजनक रह्यो : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सचिवहरुलाई दिएको निर्देशनको परिणाम निराशाजनक रहेको बताएका छन् ।

बुधवार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रममा उनले सोचेजस्तो शासकीय सुधारको काम गर्न नसकिएको भन्दै अब सरकारको ध्यान समग्र शासकीय प्रणाली सुधारमा केन्द्रित हुने बताए ।

‘सोचेजस्तो शासकीय सुधारको काम गर्न सकिएन । अब खाली प्रशासकीय मात्रै होइन । समग्र शासकीय प्रणालीमा नै सुधार गर्ने कुरामा हामी छलफल गरेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘शासकीय सुधार आयोग निर्माण गरेर यसको समग्र समीक्षा गर्ने र अगाडि जाने प्रक्रियातिर हामी छौं । हामीले सेवा प्रवाहको क्षेत्रमा साना–साना कामहरुमा सुधार गरेर अनि ठूला–ठूला कामहरुलाई प्रायोटाइज गरेर जान जरुरी छ ।’

आफूले पहिलोपटक सचिवहरुलाई दिएको निर्देशनको परिणाम निराशाजनक रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले समस्या समाधानका उपाय खोज्नैपर्ने पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले २०७९ पुस २९ गते सरकारका सचिवहरुसँग बैठक गरी ३० बुँदे निर्देशन दिएका थिए । आफूले दिएको सोही निर्देशन स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले तत्काल जनतालाई सेवा प्रवाह गर्न र जनतामा उत्साह आउने गरी परिणाममुखी काम गर्न मातहतका सबै निकायलाई निर्देशनसमेत दिए ।

जनताले प्रत्यक्ष रुपमा आफूलाई सेवा प्राप्त भएको अनुभूत नगरेमा सरकार, राजनीतिक दल र कर्मचारीतन्त्रप्रति जनताको भरोसा कमजोर हुँदै जानेतर्फ उनले ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: Dec 6, 2023

प्रतिक्रिया दिनुहोस्