Logo
४ आश्विन २०८१, शुक्रबार
(November 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन महानिरीक्षक कुँवर अस्ट्रिया प्रस्थान

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन आइतबार बिहान अस्ट्रियातर्फ प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा अष्रिहायाको भियनामा मङ्सिर १२ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गरेका हुन् ।

राष्ट्रिय केन्द्रीय ब्युरो नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

इन्टरपोलको १००औँ वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झन्डा, इन्टरपोलको झन्डा र नेपाल प्रहरीको झन्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी भएका हुन् ।

उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक बिदाइ गरेका छन् ।

इन्टरपोलका सबै १९५ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानहरूमा भाग लिनेछ । साथै, प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डल तथा इन्टरपोलका बिच शिष्टाचार भेटघाट तथा छलफल हुने कार्यक्रम समेत रहेको छ ।

महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रकाशित मिति: Nov 26, 2023

प्रतिक्रिया दिनुहोस्