Logo
४ आश्विन २०८१, शुक्रबार
(October 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

०८४ मा कसैले गठबन्धन गरेर चुनाव लडौँ भन्यो भने कांग्रेस एक रहँदैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ मा कुनै पनि अवस्थामा गठबन्धन नहुने बताएका छन् । ०८४ को निर्वाचनमा कसैले गठबन्धन गरेर चुनाव लडौँ भन्यो भने कांग्रेस एक नरहने उनले ठोकुवा गरे ।

नेपाल प्रेस युनियन काठमाडौँ शाखाले गौशालामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री थापाले गत निर्वाचनमा गठबन्धन गरेर पहिलो पार्टी बने पनि सबैतिर कांग्रेसको रुवाबासी मात्रै रहेको उल्लेख गरे ।

निर्वाचन अघि गर्ने गठबन्धनले पार्टीलाई जरासम्म कुहाउने उनको भनाइ छ । उनले भने-‘ रणनीतिक हिसाबले ठिक होला, तर सैद्धान्तिक हिसाबले गलत गठबन्धनको संस्कृति गलत छ ।

०८० मा सबैतिर सरकारमा बसेको कांग्रेस ०८४ मा चुनाव हारिन्छ भनेर चिन्ता गरिरहेको छ, किन यस्तो भयो ? सरकारमा जाने मात्रै यति महत्त्वपूर्ण किन भइरहेको छ ?’

गत निर्वाचन पछि कांग्रेस ठुलो पार्टी बनेपछि सभापति शेरबहादुर देउवाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ भनेको र त्यो स्वाभाविक भएको भन्दै महामन्त्री थापाले सभापतिले गरेको विद्रोह भएको बताए । त्यतिवेला कांग्रेसको प्रस्ताव केपी ओलीले स्वीकारेको भए कांग्रेस एमालेको सरकार बन्ने सम्भावना रहेको पनि थापाले बताए ।

उनले सरकारको काम कारबाहीप्रति पनि असन्तुष्टि जनाए । अब कांग्रेसको नेतृत्वमा सरकार बन्ने हो भने २५ जना मन्त्री नै कांग्रेसकै बन्नुपर्ने र अर्कोको नेतृत्वमा सरकार बनेको बेला उसैको पार्टीलाई सम्पूर्ण रूपमा सरकार चलाउन दिनुपर्ने थापाको भनाइ थियो ।

कोशी प्रकरणलाई सङ्केत गर्दै थापाले देउवालाई भोट हालेर फोटो देखाउनेले नै अहिले विद्रोहको कुरा गरेको आरोप लगाए । संसदीय दलको निर्वाचनमा आफूले ३६ मत पाउने अवस्था रहेकोमा २५ मत मात्र पाएको र त्यस समयमा खुट्टा कमाएकाहरूले नै अहिले विद्रोहको कुरा गरेको उनको भनाइ थियो ।

प्रकाशित मिति: Oct 19, 2023

प्रतिक्रिया दिनुहोस्