Logo
५ आश्विन २०८१, शनिबार
(October 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले फेरि पनि कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने भएको छ । मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमति भएको हो ।

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले भने, ‘कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कुरा भएको छ । सबै पदाधिकारी साथीहरुले सभापतिलाई त्यही सुझाव दिनु भएको छ ।’

यसअघि कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा दुई पटक गठबन्धनको सरकार बनेको थियो । पहिलो पटक सरकार गठनमा सभामुखको हस्ताक्षर प्रयोग गरेपछि सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो ।

दोस्रो पटक विश्वासको मत लिँदा प्रदेश सभाध्यक्षले दिएको विश्वासको मत सर्वोच्चले असंवैधानिक भनेको थियो । त्यसपछि संविधानको उपधारा ३ अनुसार एमालेका हिक्मत कार्कीले असोज २० मा राजीनामा दिएपछि कोशीमा नयाँ सरकारको खोजी भइरहेको छ ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनका लागि असोज २६ गते साँझ ५ बजेसम्मको समय सीमा दिएका छन् । ९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ सांसद छन् ।

एमालेका सभामुखको जिम्मेवारीमा रहेकी उपसभामुख सिर्जना दनुवारसहित ४० र राप्रपाका ६ सांसद छन् । सत्ता गठबन्धनले राप्रपालाई पनि साथमा लिएर सरकार बनाउने प्रयास थालेको छ । प्रधानमन्त्री प्रचण्ड र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच कोशीको सत्ता समीकरणबारे छलफल हुने यादवको भनाइ छ ।

प्रकाशित मिति: Oct 10, 2023

प्रतिक्रिया दिनुहोस्