Logo
५ आश्विन २०८१, शनिबार
(September 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिकित्सकका माग सम्बोधन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले आन्दोलनरत चिकित्सकहरुका माग वार्तामार्फत सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित बनाई निर्वाध रुपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठककका निर्णय सार्वैजनिक गर्दै समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको यस प्रकारको दुर्व्यवहार घटनाप्रति समितिको गम्भिर ध्यानाकर्षण भएको बताए ।

संसदीय समितिको तर्फबाट चिकित्सकका समस्या सम्बोधनका लागि भएका पहलकदमीबारे समिति सदस्य डा. तोषिमा कार्कीलाई आन्दोलनरत चिकित्सकलाई जानकारी गराउने जिम्मेवारी दिएको सभापति जोशीले जानकारी दिए ।

‘चिकित्सकमाथि भएको दुव्र्यवहार एवं अनपेक्षित घटनाबारे बैठकमा सरोकारवाला संघ संस्थाका प्रतिनिधिले आफ्नो धारणा राख्नुभयो । चिकित्सकमाथि भएको यस प्रकारको दुव्र्यवहारको घटनाप्रति समितिको गम्भिर ध्यानाकर्षण भएको छ’, जोशीले भने, ‘यस्ता घटनाप्रति दुःख र खेद प्रकट गर्दै दोषि उपर नियमानुसार कारबाही गर्न र स्वास्थ्य सेवालाई मर्यादीत, सुरक्षित, भयरहित,हिंसारहित बनाई निर्वाध रुपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।’ उनले चिकित्सकहरु एवं स्वास्थ्य क्षत्रसँग सम्बन्धित समस्याको समाधान गर्न वार्तामार्फत् हल गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको बताए ।

‘समितिको तर्फबाट भएका पहलकदमी बारे डा.तोषिमा कार्कीलाई आन्दोलनरत चिकित्सकसँग समन्वय गराउने भन्ने भएको छ’, जोशीको भनाइ छ । संसदीय समितिमा सांसदहरुले चिकित्सकहरुमाथि सुरक्षाको खतरा बढेको भन्दै घटनामा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: Sep 29, 2023

प्रतिक्रिया दिनुहोस्