Logo
५ आश्विन २०८१, शनिबार
(September 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले पछिल्ला केही दिनयता कास्की, मकवानपुर, लमजुङ, चितवन जिल्लालगायतका अस्पतालहरुमा कार्यरत चिकित्सकहरुमाथि भएका आक्रमण, दुव्र्यवहार तथा स्वास्थ्य संस्थाहरुमा भएको तोडफोड एवम् चिकित्सकहरुले गरेको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चिकित्सकहरुको सुरक्षा व्यवस्था, स्वास्थ्य सेवाको निरन्तरता तथा बिरामीहरुले भोग्नु परिरहेको समस्याहरु सम्बन्धमा आयोगले विभिन्न माध्यमबाट निरन्तर अनुगमन गरिरहेको प्रवक्ता डा टीकाराम पोखरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत भदौ २४ गते हेटौंडाको सञ्चो अस्पतालका चिकित्सकमाथि सेवाग्राहीबाट हातपात भएको, असोज ७ गते लमजुङको लमजुङ अस्पतालका चिकित्सकमाथि स्थानीय जनप्रतिनिधिबाट हातपात भएको, असोज ८ गते पोखराको मणिपाल अस्पतालमा चिकित्सकहरुमाथि सेवाग्राहीले कुटपिट, दुव्र्यवहार र आक्रमण गरेको घटना सम्बन्धमा आयोगले अनुगमन गरेको उनको भनाइ छ ।

पछिल्लोपटक पोखराको मणिपाल अस्पतालमा एक जना बिरामीको उपचारको क्रममा मृत्यु भएको भन्दै मृतकका आफन्तले चिकित्सकमाथि हातपात र दुव्र्यवहार गरी अस्पतालको भौतिक संरचना तोडफोड गरेको साथै सुरक्षाकर्मीबाट समेत चिकित्सकमाथि दुव्र्यवहार गरेको आयोगको अनुगमनबाट पाइएको पोखरेलले बताए ।

स्वास्थ्योपचारको क्रममा कुनै चिकित्सक दोषी देखिएमा निजलाई कानुनी कारबाहीको दायरामा ल्याउनुको सट्टा स्वास्थ्य संस्था र सिंगो स्वास्थ्य क्षेत्रलाई नै आक्रमण गर्ने प्रवृत्ति बढ्दै जानु लोकतन्त्र, मानव अधिकार र विधिको शासन विपरित हुन जाने आयोगको भनाइ छ ।

आयोगले कुनै पनि बहानामा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण, दुव्र्यवहार एवम् कुटपिट नगर्न, स्वास्थ्य संस्था जस्तो अत्यावश्यकीय तथा संवेदनशील ठाउँमा तोडफोड नगर्न, स्वास्थ्य सेवा नै बन्द गरी आन्दोलन नगर्न र नागरिकको स्वास्थ्योपचारको हक सुनिश्चित गर्नसरकार, स्वास्थ्यकर्मीहरु र सबै सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति: Sep 28, 2023

प्रतिक्रिया दिनुहोस्