Logo
५ आश्विन २०८१, शनिबार
(September 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिल्म ‘नाङ्गो गाउँ २’ निर्माणको घोषणा

फिल्म ‘नाङ्गो गाउँ’ ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेपछि यसको निर्माण पक्षले सिक्वेलको घोषणा गरेको छ । फिल्मका निर्माता हिमाल कडरिया र लेखक तथा निर्देशक दीपेन्द्र लामाबीच फिल्मको सिक्वेल बनाउने सहमति भएको हो ।

‘एक राजनीतिक पुनरागमन’ ट्याग लाइनसहित फिल्म ‘नाङ्गो गाउँ २’ निर्माणको घोषणा गरिएको हो । फिल्मको सिक्वेलमा दयाहाङ राईले निर्वाह गरेको पात्र ‘पासाङ’ केही समयपछि गाउँ फर्किने कथा रहनेछ । ‘धेरै दर्शकले नायकको हार र पलायनमा दुःख व्यक्त गरेको पायौं, उहाँहरुले दोस्रो भाग माग गर्नुभयो’ निर्माता कडरियाले भने, ‘अहिले सबैतिरबाट दोस्रो भागको माग आएकाले हामीले यसको योजनालाई अगाडि बढाउने निर्णयमा पुगेका हौं ।’

फिल्मका लेखकसमेत रहेका निर्देशक लामाले दोस्रो भागको कथा पहिल्यै लेखिसकेका छन् । उनी भन्छन्– ‘अहिले फिल्मको कथा जहाँ टुंगिन्छ, त्यो वास्तवमा मध्यान्तर थियो । पटकथामा परिणत गर्दै जाँदा कथा लामो हुनपुग्यो र हामीले दुई भागमै बनाउने सोच्यौं ।’

निर्माता कडरियाकाअनुसार ‘नाङ्गो गाउँ–२’ को छायांकन तत्काल होइन एक वर्षपछि मात्र हुनेछ । त्यसअघि उनले निर्देशक लामालाई नै लिएर अर्को कमेडी फिल्म बनाउने तयारी गरेका छन् । ‘फिल्म ‘नाङ्गो गाउँ’ बाट म सन्तुष्ट छु, त्यही भएर मैले दीपेन्द्रजीसँगको सहकार्यलाई निरन्तरता दिन लागेको हुँ,’ निर्माता कडरियाले भने ।

तिहारपछि छायांकनमा जाने नाम जुराउन बाँकी उक्त कमेडी फिल्ममा दीपेन्द्र लामाकै लेखन रहनेछ ।

प्रकाशित मिति: Sep 26, 2023

प्रतिक्रिया दिनुहोस्