Logo
५ आश्विन २०८१, शनिबार
(September 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशी प्रदेशमा नयाँ समीकरण निर्माणका लागि निर्णायक वार्ता गर्नुपर्छ : भीम पराजुली

नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले कोशी प्रदेशमा सरकारको स्थिरताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निर्णायक वार्ता गरी नयाँ समीकरण निर्माण गर्नुपर्ने बताएका छन् ।

आइतबारको केन्द्रीय समिति बैठकमा उनले राप्रपासँग तालमेल नगरीकन अघि बढ्दा पटक पटक अस्थिरता दोहोरिएको बताए । ‘कोशी प्रदेशको सरकार गठन सन्दर्भमा राप्रपा सँग तालमेल नगरीकन अघि बढ्दा पटक पटक अस्थिरता दोहोरिएको छ,’ उनले भने, ‘कोशी प्रदेशमा सरकारको स्थिरता खोज्ने हो भने राप्रपासँग निर्णायक वार्ताअघि बढाएर नयाँ समीकरण निर्माण गर्नुपर्दछ ।’

कांग्रेसलाई छानिछानी दुःख दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठको नियत रहेको भन्दै पार्टीले गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ छ । ‘सुन प्रकरणमा नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम सबै समाचार माध्यममा आएका छन् । उनलाई न पक्राउ गरिन्छ न कुनै मुद्दा चल्छ,’ उनले भने, ‘तर, हाम्रा नेताहरूमाथि पूर्वाग्रही ढङ्गबाट टुंगिसकेको मुद्दालाई कहिले नेता विजय गच्छदारलाई पक्राउ पुर्जी जारी गरिन्छ त कहिले सांसद सुनिल शर्मालाई हिरासतमा राखिन्छ । कांग्रेसलाई छानिछानी दुःख दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठको नियत देखियो । यसको समीक्षा हुनुपर्छ ।’

सरकारलाई महँगी नियन्त्रणमा यथोचित कदम चाल्न उनको आग्रह छ । गत साता मात्र भारतमा सम्पन्न टी टु सम्मेलनमा नेपालको किन उपस्थिति हुन सकेन भन्दै प्रश्न गरेका थिए । ‘हामीले समयमै सुझबुझपूर्ण तयारी गरेको भए बङ्गलादेशले जस्तै अवर प्राप्त गर्न सक्थ्यौँ । हाम्रो कूटनीति कहाँ चुक्यो हामीले गम्भीर ढङ्गले यस विषयबारे आत्मसमीक्षा गर्नुपर्दछ,’ उनले भने ।

यस्तै उनले देशमा युवा पलायन एवं बौद्धिकता र सीपको पलायन भएको बताए । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी लगायतका विषयमा कांग्रेसको नीति जनताले जान्न चाहेको पराजुलीको भनाइ छ । ‘कांग्रेसले कसरी सम्बोधन गर्छ ? जनताले हेरिरहेका छन्, यसमा गम्भीर समीक्षा गरी आवश्यक कदम चाल्न अनुरोध गर्दछु,’ उनले भने ।

कोशी प्रदेशमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्मण गर्न आवश्यक पहलकदमी लिन पनि उनले आग्रह गरे ।

प्रकाशित मिति: Sep 24, 2023

प्रतिक्रिया दिनुहोस्