Logo
११ मंसिर २०८१, मंगलबार
(September 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्षातका कारण जनधन गुमाएकाहरुलाई सरकारले तत्काल राहतको व्यवस्था गर्नुपर्छ : जनार्दन शर्मा

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद जनार्दन शर्माले रुकुम पश्चिम, जाजरकोट र सल्यानको केही भागमा हावाहुरीसहित ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

उपमहासचिव शर्माले सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले यहि भाद्र १७ गते हावाहुरीसहितको अविरल वर्षाका कारण मृत्यु भएको रुकुममा दुई बालिबालिका र जाजरकोटका एक जनाको मृत्युप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले त्यसक्रममा त्यहाँ मुख्यबालीको रुपमा रहेको मकैबाली पनि नष्ट भएकाले उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारले ढिलाई गर्न नहुने बताए ।

‘यहि भाद्र १७ गते रुकुम पश्चिम चौरहजारी नगरपालिका केन्द्र भई हावाहुरीसहितको वर्षाले ठूलो जनधनको क्षति भएको छ । खहरेखोलामा आएको बाढीले रत्नबहादुर बुढाथोकीका ८ वर्षीय छोरा मनोज र ४ वर्षीया छोरी भावना बुढाथोकीको खहरे खोलाले बगाएर मृत्यु भएको छ’ उनले भने, ‘त्यसैगरी जाजरकोटमा चटयाङ परी एक जनाको मृत्यु भएको छ । र, चौरहजारी वडा नम्बर १, २ र ३, ६, १२ ८ लगायतका समग्र पालिकाभरी सल्यानको केही भाग र जाजरकोटको यो हावाहुरीसहितको अविरल वर्षाका कारण त्यहाँको मुख्यबाली मकैबाली हो । मकैबाली पूर्ण रुपले नष्ट भएको छ । र, ठूलो क्षति भएको छ । घरको टिनको छाना उडाएर क्षति भएको छ ।’

उपमहासचिव शर्माले पीडितलाई राहत दिने काममा स्थानीय सरकार लागि परेपनि संघीय सरकारले अझै पहल नगरेको गुनासो समेत गरे ।

‘उक्त क्षतिबारे आवश्यक राहत र क्षतिपूर्तिका लागि स्थानीय सरकारले पहल गरिराखेको छ’ शर्माले भने, ‘प्रदेश सरकारले पनि आफ्नो ठाउँबाट पहल गर्नेछ । र, विशेष गरेर संघीय सरकारको क्षतिपूर्तिका लागि, राहतका लागि म ध्यानाकर्षण गराउन चाहन्छु ।’ उपमहासचिव शर्माले प्रदेश सरकारले पनि सो घटनाका पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउने विश्वास समेत व्यक्त गरे ।

प्रकाशित मिति: Sep 4, 2023

प्रतिक्रिया दिनुहोस्