Logo
६ आश्विन २०८१, आईतबार
(August 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षामा समेटिँदै

सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने भएको छ । उक्त कार्यक्रम आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक घोषणा गर्दै छन् । प्रज्ञा भवन कमलादीमा बुधबार बिहान १० बजे आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले औपचारिक घोषणा गर्न लागेका हुन् ।

अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो ।

वैशाख १ गतेदेखि नै कोषमा समेट्ने भनिए पनि तयारी नपुगेका आज औपचारिक घोषणा गर्न लागिएको सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले बताए । उनका अनुसार अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिले सरकारले तोकेको आधारभूत पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत रकम योगदान गर्नुपर्ने छ ।

योगदान रकमको ११ प्रतिशत सम्बन्धित व्यक्ति र बाँकी सरकारका तर्फबाट नौ दशमलव ३७ प्रतिशत जम्मा हुने रेग्मीले बताए । सरकारका तर्फबाट जम्मा गरिने रकम सङ्घ, प्रदेश वा स्थानीय तहले जम्मा गरिदिने वा त्यस्तो रकम योगदानकर्ता आफैँले जम्मा गर्न सक्नेछन् ।

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार तोकेको छ । जसमा आधारभूत पारिश्रमिक नौ हजार तीन सय ८५ र महँगी भत्ता पाँच हजार छ सय १५ तोकिएको छ ।

त्यस्ता श्रमिकले आधारभूत पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत आफैँ जम्मा गर्न सक्ने व्यवस्था अनौपचारिक र स्वरोजगार क्षेत्र सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ मा व्यवस्था गरिएको उनले बताए ।

 

प्रकाशित मिति: Aug 16, 2023

प्रतिक्रिया दिनुहोस्