Logo
७ आश्विन २०८१, सोमबार
(August 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुराकी दिनेले कमिसन पाउने नीतिले सुन समातियो : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुन:सञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको बताएका छन् ।

शुक्रबार वीरगन्जमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले भने,‘ चिनी कारखाना पुर्नसञ्चालन गरिन्छ नै भनेर अहिले भन्न सकिने अवस्था छैन । यसका लागि सरकारका तर्फबाट सम्भाव्यता अध्ययन भइरहेको छ ,यो काम सकेपछि मात्रै चलाउने वा नचलाउने भन्ने कुराको टुङगो लाग्छ । ‘

चिनी कारखाना चलाउँछौं भनेर सरकारले अहिले हचुवाको भरमा घोषणा नगर्ने पनि उनले प्रष्ट पारे । अघिल्लो सरकारका अर्थमन्त्री जनार्दन शर्माले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुर्नसञ्चालनको घोषणा गर्दै गत आर्थिक वर्षको बजेटमा २० करोड रुपैयाँ विनियोजन पनि गरेका थिए ।

सोभियत संघको सहयोगमा २०१९ सालमा निर्माण गरि २०२१ सालदेखि सञ्चालनमा ल्याइएको वीरगन्ज चिनी काराखाना घाटामा गएपछि सरकारले २०५९ फागुनदेखि बन्द गरेको थियो ।

केन्द्रका अध्यक्ष महावीर पुनले सरकारले सम्झौता अनुसार अर्थमन्त्रालयले बजेट नदिएका कारण कारखाना मर्मत सम्भारका लागि रकम जुटाउन आफूले पाएका मेडलहरू लिलामीमा राखेको पोष्ट सामाजिक सञ्जालमा राखेका छन् ।

त्यहि प्रसंगबारे सोधिएको प्रश्नमा अर्थमन्त्री महतले भने,‘सरकारसँगको सम्झौता अनुसार केन्द्रलाई २५ करोड रुपैयाँ दिने उल्लेख छ । त्योमध्ये हालका लागि १ करोड रुपैयाँ अर्थमन्त्रालयले निकासा गरिसकेको छ , बाँकी रकम आवश्यकता अनुसार व्यवस्थापन गरिनेछ । ‘

दुई दशकदेखि बन्द कृषि औजार कारखाना मर्मतसम्भार गरी १० वर्षसम्म सञ्चालनको जिम्मा केन्द्रलाई सरकारले दिएको छ । फरक प्रसंगमा अर्थमन्त्री महतले एक सय किलो सुन तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरे ।

आफ्नै कारणले त्रिभुवन विमानस्थलबाट एक सय किलो सुन समातिएको दाबी समेत उनले गरे । सुराकी दिनेलाई प्रोत्साहित गर्न पुरस्कार दिने व्यवस्था आफूले नै गरेको र त्यसैका कारण सुन समातिएको जिकिर महतको थियो ।

वर्तमान सरकारले सुशासन ,पारदर्शीता र विकास निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको अर्थमन्त्री महतले बताए । आफूले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाले यता अर्थतन्त्रका समस्या विस्तारै कम हुँदै गएको ,वैदेशिक मुद्राको सञ्चितीमा सुधार आएको ,मुल्यवृद्धि क्रमिक रुपमा घट्दै गएको,पूँजी प्रवाहमा देखिएका समस्या सम्बोधन हुँदै गएको पनि उनले बताए ।

प्रकाशित मिति: Aug 4, 2023

प्रतिक्रिया दिनुहोस्