Logo
७ आश्विन २०८१, सोमबार
(August 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

नेपाल निर्माण व्यवसायीहरूले सरकारले निर्माण व्यवसायीहरूको माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् ।

शुक्रवार उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भई निर्माण उपकरणसहित धर्ना दिएका हुन् । कार्यक्रममा निर्माण व्यवसायीहरूले पूर्ववर्ती सरकारले गरेका गल्तीहरू सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको बताए ।

उनीहरुले बजेट दिन नसक्ने आयोजनाहरू खारेज नगरे देशमा निर्माण व्यवसायीहरूको आन्दोलन थप चर्किने चेतावनी दिए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले रक्षा मन्त्रालय नै ठेक्कापट्टामा लागेको भन्दै रक्षा मन्त्रालयले सुरक्षा व्यवस्था चुस्त बनाउने हो की ठेक्का पट्टामा लाग्ने हो ? भन्दै प्रश्न गरे ।

उनले सरकारले निर्माण व्यवसायीको माग पूरा नगरे आफूले सांसदको पद त्याग्ने बताए ।

उनले निर्माण व्यवसायीहरू प्लेकार्डमा मात्रै एकत्रित हुने नभई जुनसुकै बेलामा एकत्रित हुनुपर्ने बताए ।

विरोध कार्यक्रममा बोल्दै महासङ्घका पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायीहरू सरकारबाट नै ठगिरहेको आरोप लगाए । उनले सरकारको काम निर्माण व्यवसायीहरूले गरेकाले कामको भुक्तानी सबैभन्दा पहिला गर्नुपर्ने बताए ।

लामिछानेले निर्माण व्यवसायी नेपालको मुहार फेर्ने जमात भएकाले बाटोमा खडा हुने अवस्था बाध्य नबनाउन चेतावनी दिए ।

विरोध कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष यक्षध्वज कार्कीले ढुंगामाटोसँग खेल्ने निर्माण व्यवसायीहरूलाई सडकमा आन्दोलन गर्न बाध्य नबनाउन सरकारसँग आग्रह गरे ।

उनले निर्माण व्यवसायीहरूलाई परेको दुःख सबैको दुःख भएकाले निर्माण व्यवसायलाई अघि बढाउन माग गरेको बताए । उनले सरकारले आफ्ना मागहरूको अन्देखा गरिएको आरोप लगाउँदै सरकारले माग पूरा नगरे देशभर निर्माण ठप्प बनाउने चेतावनी दिए ।

विरोध कार्यक्रममा बोल्दै महासङ्घका पूर्वअध्यक्ष रमेश शर्माले निर्माण व्यवसायीका सम्पूर्ण माग जायज रहेकाले पूरा गर्नुपर्ने बताए । उनले आन्दोलन गरेको ६ दिन भइसक्दासमेत सरकारले आफ्ना मागप्रति चासो नदिएको भन्दै अर्को चरणको आन्दोलन चर्काउने चेतावनी दिए ।

विरोध कार्यक्रममा बोल्दै महासङ्घका अध्यक्ष रवि सिंहले आन्दोलन गर्नुपूर्व धेरै पटक प्रधानमन्त्रीको ध्यानाकर्षण गराए पनि माग सुनुवाइ नभएकाले आन्दोलन गर्न बाध्य भएको बताए । असार मसान्तसम्म सबै कामको भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि सोअनुसार कार्यान्वयन गर्न नसकेको गुनासो गरे ।

निर्माण व्यवसायीहरूले बजेट बिनाका आयोजनाहरू खारेज गरी मूल्य समायोजन गर्नुपर्ने, एकमुस्ट म्याद थप गर्नुपर्ने बताए ।

प्रकाशित मिति: Aug 4, 2023

प्रतिक्रिया दिनुहोस्