Logo
५ आश्विन २०८१, शनिबार
(July 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सचिवालय बैठकअघि एमाले अध्यक्ष ओली उपाध्यक्षहरुसँगको छलफलमा

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सचिवालय बैठकअघि उपाध्यक्षहरुसँग छलफलको सुरुवात गरेका छन् । पार्टी नेताहरुको आग्रहअनुसार अध्यक्ष ओलीले सचिवालय बैठक अघि समग्र पार्टीको अवस्था र राष्ट्रिय राजनीतिबारे उपाध्यक्षहरुसँग छलफलपसिछ सचिवालय बैठक बस्ने व्यवस्थाको सुरुवात गरेका हुन् ।

‘हामीले धेरै पहिलेदेखि सचिवालय बैठकअघि उपाध्यक्षहरुसँग अध्यक्षले छलफल गर्नुपर्छ भनेर भनेका थियौं, अघिल्ला बैठकहरुमा विभिन्न कारणले सम्भव भएन र भ्याइएन पनि’, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन्, ‘यसपटकबाट सुरुवात भएको छ । अब यो प्रक्रियाले निरन्तरता पाउँछ ।’

अध्यक्ष ओलीले पर्सी असार ३० गते शनिबार सचिवालय बैठक बोलाएका छन् । त्यसअघि हिजो बुधबार र आज बिहीबार अध्यक्ष ओलीले सातै उपाध्यक्षहरुसँग छलफल गर्दैछन् ।

‘यसपटकबाट सुरुवात भयो । ३० गतेको सचिवालयअघि हिजो सामान्य कुराकानी भएपनि खासै धेरै छलफल हुन सकेन । आज पुन २ बजेपछि अध्यक्षसँग उपाध्यक्षहरु बसेर छलफल हुन्छ’, शाक्यले भनिन्,‘यसले विसयबस्तु र कतिपय एजेण्डामा बुझाइको एकरुपता ल्याउँछ ।’

नेकपा एमालेले गत जेठदेखि पार्टीका नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिएपछि त्यसबारे केही नेताहरुले असन्तुष्टि जनाएका छन् । कतिपय नेताहरु जिम्मेवारीअनुसार काममा गएपनि केही नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि जनाएपछि उक्त निर्णयबारे पुनर्विचार गर्नुपर्ने बहस पनि उठेको छ ।

फरक भुगोलको जिम्मेवारी दिएपछि केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाउनेमध्येका एक नेता हुन्– पोलिट्ब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटा । केही समयअघि बहुदलीय राजनीतिमा व्यक्तिको सरुवा गर्न नमिल्ने भन्दै पार्टी नेतृत्वको निर्णयले सकारात्मक परिणाम दिनेमा आशंका रहेको बताएका थिए ।

‘आफूलाई के मात्र ठान्छन् हो ? कोही कोही त गृहले सीडीओ सरुवा गरेझैँ बहुदलीय राजनीतिमा मान्छेको सरुवा गर्न मिल्दैन नि ! कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर,’ बाँस्कोटाले ट्वीटरमालेखेका छन्, ‘उखानै छ एक दिनको पाहुना मिठोमिठो खा, दुई दिनको पाहुना जे सुकै खा, तीन दिनको पाहुना जतासुकै जा !! हुने त्यही हो, कुरा बुझे भैगो ।’

एमालेको गत वैशाख २८–३० गतेसम्म बसेकोे पाँचौँ केन्द्रीय कमिटी बैठकले नेताहरूलाई फरक भूगोलमा खटाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार केन्द्रीय सचिवालय बैठकले पार्टीका उपाध्यक्षहरूलाई ३३ विभागको समन्वय गर्ने जिम्मा दिएको थियो भने पार्टीका ६ जना सचिवलाई फरक–फरक प्रदेशको इन्चार्जका रुपमा तोकेको थियो । त्यस्तै केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यहरुलाई जिल्ला र स्थानीय तहमा खटाएको थियो ।

तर फरक भुगोलको जिम्मेवारी दिने केन्द्रको निर्णयप्रति आपत्ति जनाउँदै कतिपयले सार्वजनिक रुपमै आपत्ति जनाएर कार्यक्षेत्रमा खटिएका छैनन् भने कतिपयले बिरामीको बहाना गरिरहेका छन् ।

‘केन्द्रको निर्णयअनुसार खटाएको ठाउँमा केही नेताहरु नगएको पाइएको छ भने केही बिरामी परेको बहाना गरेको पनि भेटिएको छ’ एमालेका एक पदाधिकारीले भने, ‘यसबारे सचिवालय बैठकमा के गर्ने भन्ने छलफल हुन्छ ।’

ती पदाधिकारीका अनुसार खटाएको कार्यक्षेत्रमा नजाने नेताहरुलाई कारबाही नै गरिहाल्ने अवस्था भने छैन । ‘अहिले कारबाही नै गरिहाल्ने अवस्था त छैन तर उनीहरुलाई सम्झाउने बुझाउने प्रयास हुनसक्छ’, ती नेताको भनाइ छ ।

प्रकाशित मिति: Jul 13, 2023

प्रतिक्रिया दिनुहोस्