Logo
८ आश्विन २०८१, मंगलबार
(July 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशबाट अवैध सुन ल्याउने धन्दामा संलग्न १२ जना पक्राउ, १ अर्ब ९६ करोड कारोबार

विदेशबाट अवैध सुन ल्याउने धन्दामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कतारबाट वैदेशिक रोजगारीबाट फर्केका ५ जनासहित १२ जनालाई पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीमा रहेकाहरुले सिरहाको रितेश जनरल स्टोरका सञ्चालक शिवसुन्दर राउतको सुन बोकेर ल्याएको प्रहरीले जनाएको छ । शिवसुन्दरले अवैध सुन ल्याउनका लागि लामो समयदेखि वैदेशिक रोजगारीमा रहेकाहरुलाई परिचालन गर्दै आएको खुलेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले सन् ०१९ देखि उनको खातामा १ अर्ब ९६ करोड कारोबार देखिएको बताए ।

शिवसुन्दर राउतलाई प्रहरीले सिरहाबाटै पक्राउ गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस्तै सिनामंगलमा बी हिमालयन स्पायर होटल सञ्चालन गर्दै आएका विनोद कुमार शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी सुन संकलनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा विदेशबाट आउँदा सानो सानो मात्रामा सुनको तस्करी भइरहेको गोप्य सूचनाको आधारमा निगरानी बढाउँदा पछिल्लो पटक बिदेबाट आउने ५ जनाको साथबाट ८२८ ग्राम सुन बरामद भएको प्रहरीको भनाइ छ । यसरी सुन पटक पटक आउने गरेको प्रहरीको प्रहरी स्रोतको भनाइ छ ।

विदेशबाट फर्किने क्रममा सुनसहित पक्राउ पर्ने ५ जनामा धनुषाका सुनिल कुमार महरा, नरेश पजींयार, सिरहाका दिनेश कुमार यादव, कपिलवस्तु सन्तु गुलाम मुराउ र बाँकेका भुम बहादुर वली रहेका छन् ।

यस्तै सुन संकलन गर्ने क्रममा पक्राउ पर्नेमा बिनोदसहित सञ्जु कुमारी शाह दुर्गा प्रसाद यादव र देवानन्द शाह रहेका छन् ।

यस्तै प्रहरीले सिरहाका मोहन कुमार यादवलाई पनि पक्राउ गरेको छ । उनले शिव सुन्दर राउतको खातामा रकम हाल्ने र झिक्ने गरेको खुलेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: Jul 10, 2023

प्रतिक्रिया दिनुहोस्