Logo
८ आश्विन २०८१, मंगलबार
(July 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असुरक्षा बढेको भन्दै ललितपुर जिल्ला अदालतका कर्मचारी सर्वोच्चमा

कानुन व्यवसायीबाट आफूहरूलाई खतरा भएको भन्दै ललितपुर जिल्ला अदालतका कर्मचारी कार्यालय छाडेर सर्वोच्च अदालत पुगेका छन् । कानुन व्यवसायीबाट आफूहरूलाई धम्की आएको र कार्यस्थलमा बसेर कामकाज गर्न सक्ने अवस्था नरहेको भन्दै कर्मचारीहरू सर्वोच्च अदालतमा पुगेका हुन् ।

असार १८ गते नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमितिकै आयोजनामा ललितपुर जिल्ला अदालत बाहिर आमसभा गरी कर्मचारीको मानमर्दन हुने गरी अभिव्यक्ति दिइएको र बारले आफ्नो क्षेत्राधिकार र सीमा मिचेर कुनै अमुक कर्मचारीलाई यहाँ सरुवा गर भन्नु कानुन विपरीतको कार्य भएको भन्दै आपत्ति जनाएको छ ।

ललितपुर जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डे लगायतको समूह यति बेला सर्वोच्च अदालतमा पुगेको छ । कर्मचारीहरू कामकाज छाडेर सर्वोच्च अदालत पुगेपछि सर्वोच्च अदालत प्रशासनले कर्मचारीसँग छलफल गरी काममा फर्किन आग्रह गरेको छ ।

यद्यपि कर्मचारीहरूले भने आफूहरूको जिउधनको सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा नफर्कने चेतावनी दिएका छन् । आफ्नो कर्मचारीको गल्ती भए छानबिन गरी कारबाही गर्नसमेत आफूहरूले सर्वोच्च अदालत प्रशासनसँग माग गरेको र जसको गल्ती हो उसलाई कारबाही हुनुपर्ने आफूहरूको माग रहेको श्रेष्तेदार पाण्डेले बताए ।

पाण्डेले  भने, ‘हामी यथाअवस्थामा कार्यकक्षमा बसेर कामकाज गर्न नसक्ने अवस्थामा पुगेका छौँ, त्यही भएर हामी यति बेला सर्वोच्चमा छौँ ।

हामी विवादलाई बढाउने भन्दा पनि समाधान गर्नुपर्छ नै भनेर लागेका छौँ । तर बार एसोसिएसन भने यसलाई अतिरञ्जित बनाउन लागिपरेको छ । हामी जसको गल्ती हो, उसलाई कारबाही गर्नुपर्छ भन्ने पक्षमा छौँ । तर बार भने कर्मचारीको मनोबल गिराउने र क्षेत्राधिकार मिचेर सरुवाको माग गर्नतिर अग्रसर छ ।

हामीलाई सुरक्षा खतरासमेत भएपछि हामी कार्यालय जान सकेका छैनौँ ।’ कर्मचारीहरू कार्यालयमा उपस्थित नभएपछि ललितपुर जिल्ला अदालतमा पेसी व्यवस्थापन लगायतको काम हुन सकेको छैन । न्यायाधीशहरू भने अदालतमा पुगेका छन् ।

प्रकाशित मिति: Jul 4, 2023

प्रतिक्रिया दिनुहोस्