Logo
८ आश्विन २०८१, मंगलबार
(July 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि सत्तारुढ गठबन्धनको बैठक

सत्ता गठबन्धनको बैठक आज अपराह्न बस्दैछ । कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार आज दिउँसो चार बजेका लागि बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय छलफल एजेन्डा रहेको उनले बताए ।

विश्वासको मत पाउन नसक्दा शुक्रबार एमाले नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि असार २१ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुख खापुङको आह्वान छ। ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसद छन् ।

केन्द्रीय सत्ता गठबन्धन सम्बद्ध जसपाले पहिचान पक्षधरको आन्दोलनको सम्बोधन नहुन्जेल कुनै पनि दललाई सरकार गठनका लागि समर्थन नगर्ने अडानमा लिएको छ ।

साथै सरकारको नेतृत्व कांग्रेस र माओवादीमध्ये पहिले कसले गर्ने भनेर विवाद छ । यसको टुंगो लगाउन कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीका शीर्ष नेता छलफल जुट्न लागेको देखिन्छ ।

यसका साथै संसदीय समितिको सभापतिको भागबन्डाका विषयमा छलफल हुने छ । प्रतिनिधि सभामा १० वटा विषयगत समिति र २ वटा संयुक्त समिति छन् । जसमा प्रमुख प्रतिपक्षी एमालेलाई एक संयुक्त समिति र दुई विषयगत समितिको नेतृत्व दिने सहमति भएको थियो ।

लेखकका अनुसार एमालेले सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति पाउने पक्काजस्तै छ । अर्को कुन समिति दिने भन्नेबारे सहमति भइसकेको छैन ।

यता सत्तारूढ कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाभित्र कुन समिति कसले लिने भनेर भागबन्डा मिलेको छैन । नेताहरूका अनुसार संसद्मा उपस्थितिका आधारमा समितिको नेतृत्व दिने राजनीतिक सहमति भएको थियो । कुन दललाई कुन समिति दिने भन्ने यकिन भएको छैन ।

प्रकाशित मिति: Jul 3, 2023

प्रतिक्रिया दिनुहोस्