Logo
८ आश्विन २०८१, मंगलबार
(June 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशीमा मुख्यमन्त्रीलाई विश्वासको मत दिन जसपा सहभागी नहुने

जसपाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिने कार्यमा सहभागी नहुने भएको छ । जसपा कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले बिहीबार एक विज्ञप्ति जारी गर्दै विश्वासको मत दिने कार्यमा सहभागी नहुने बताएका हुन् ।

विज्ञप्तिमा कोशी नामकरणमा सहयोग गर्ने कुनै पनि दलको नेतृत्वलाई अस्वीकार गर्ने उल्लेख छ । साथै सो पार्टीले कोशी प्रदेश नामकरण खारेज गरी पहिचानलाई सम्बोधन गरी प्रदेशको नामकरण पुनः गर्नुपर्ने माग राखेको छ ।

निरन्तर सङ्घीयता र पहिचानको निम्ति पहिचानसहितको सङ्घीयता, सुशासन र समृद्धिसँगै समाजवादको बलियो आधार तयार गर्नलाई जनसङ्घर्ष नै प्रमुख साधन हो भन्ने मान्यताका आधारमा आन्दोलनलाई सरकार, सदन र सडक तीनै ठाउँबाट सङ्घर्ष चलाइरहेको जसपाले जनाएको छ । कोशी प्रदेशमा कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन जसपाले गत जेठ १६ गते नै फिर्ता लिइसकेको छ ।

‘वर्तमान राजनीतिक परिस्थितिमा जसपा एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिने पक्षमा हुने कुरै भएन । सँगै, पहिचानको मागलाई नजरअन्दाज गरेर कोशी नामकरणको पक्षमा मतदान गर्ने दलहरूप्रति पनि हामी विश्वस्त हुन सक्ने कुनै राजनीतिक आधार देखा परेको छैन’, जसपाले भनेको छ ।

मुख्यमन्त्री कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची छ ।

 

प्रकाशित मिति: Jun 29, 2023

प्रतिक्रिया दिनुहोस्