थाइल्यान्डलाई २२५ रनले हराउँदै नेपाल सेमिफाइनलमा
नेपालले थाइल्यान्डमाथि २ सय २५ रनको विजय हात पार्दै एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । २ सय ७० रनको विजय लक्ष्य लिएर आएको थाइल्यान्ड १३.२ ओभरमा ४४ रनमै अलआउट भयो ।
मलेसियामा भइरहेको प्रतियोगितामा नेपालको यो पहिलो खेल थियो । तर समूह ‘ए’ मा रहेको थाइल्यान्ड दुवै खेलमा पराजित भएपछि नेपाल र मलेसिया सेमिफाइनल पुगेका हुन् । थाइल्यान्ड आफ्नो पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो ।
बांगीस्थित वाईएसडी यूकेएम ओभल मैदानमा नेपालसामु थाइल्यान्ड निकै फिका देखिएको थियो । सन्तोष यादवले ५ विकेट लिए । उनले ३.२ ओभरमा १ मेडन राख्दै ८ रनमात्र खर्चे । अशोक धामीले ३ ओभरमा २ मेडन राख्दै ४ रन खर्चेर ३ र कप्तान अविषेक तिवारीले ४ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर २ विकेट लिए ।
यसअघि ओपनिङ जोडि निरज यादव र सुर्यांशु कोइरालाले शतकीय साझेदारी गरेपछि टस जितेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाई २ सय ६९ रन बनाएको थियो ।
निरज र सूर्यांशुले पहिलो विकेटमा १३ ओभरमा १ सय २६ रन जोड्दै नेपालको विशाल योगफलको आधार बनाएका थिए । निरजले ४३ बलमा ७४ रन बनाए । २१ बलमै अर्धशतक पूरा गरेका उनले कुल ७ चौका र ६ छक्का प्रहार गरे । सूर्यांशुले ५५ बल खेली ३ चौकासहित ४० रन बनाए ।
आशिष लुहार १३ रनमा आउट भए पनि सन्तोष यादव र नरेन भट्टले चौथो विकेटमा ८१ रनको साझेदारी गर्दै नेपालको रनक्रमलाई निरन्तरता दिएका थिए । सन्तोषले ३६ बलमा ४ चौका र १ छक्कासहित ४२ रन बनाए । नरेन ५३ र प्रतिक पोखरेल १ रन बनाई अविजित रहे । नरेनले ४३ बल खेल्दै ५ चौका प्रहार गरे । अशोक धामी ५, अविशेक तिवारी १४, दिप भुजेल ६ र कृतिक कामत शून्य रनमा आउट भए ।